काठमाडौं – मानसिक स्वास्थ्यसम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज अक्टोबर १० मा विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मानसिक स्वास्थ्यका विषयमा खुला छलफललाई प्रोत्साहन गर्ने, यससम्बन्धी सामाजिक संकोच र विभेद कम गर्ने तथा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
विश्व मानसिक स्वास्थ्य महासंघको पहलमा सन् १९९२ देखि मनाउन थालिएको यस दिवसलाई सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यमा प्रत्येक वर्ष विशेष नारासहित मनाउने परम्परा सुरु भएको हो । दिवसका अवसरमा मानसिक स्वास्थ्यको महत्त्वबारे जानकारी फैलाउने, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिका अनुभव र आवश्यकतालाई सम्बोधन गर्ने तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा जोड दिइन्छ ।
सन् २०२६ को विश्व मानसिक स्वास्थ्य दिवसका लागि प्रस्तुत गरिएको ‘जीवन्त अनुभवको सुनुवाइ स् वास्तविक आवाज, वास्तविक परिवर्तन’ नाराले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगेका व्यक्तिहरूका अनुभव र आवाजलाई प्राथमिकताका साथ सुन्नुपर्ने सन्देश दिएको छ। मानसिक स्वास्थ्य सेवाको विकास तथा सुधारका क्रममा प्रत्यक्ष अनुभव भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूका आवश्यकता र सुझावका आधारमा व्यावहारिक परिवर्तन ल्याउनुपर्नेमा यस नाराले जोड दिन्छ ।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण भए पनि यससम्बन्धी समस्यालाई लिएर समाजमा अझै विभिन्न भ्रम, नकारात्मक धारणा र संकोच कायम छन् । यस्ता धारणाका कारण धेरै व्यक्तिले आफ्ना समस्या खुलेर व्यक्त गर्न नसक्ने तथा समयमै परामर्श र उपचार लिन हिचकिचाउने अवस्था देखिन्छ। त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा खुला संवादको वातावरण निर्माण गर्नु, विभेद कम गर्नु र समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न परिवार, समुदाय तथा सम्बन्धित निकायको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
यस दिवसले मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई समयमै विशेषज्ञको परामर्श, मनोसामाजिक सहयोग, थेरापी तथा आवश्यक उपचार उपलब्ध गराउनुपर्ने आवश्यकतालाई पनि उजागर गर्छ । साथै, मानसिक स्वास्थ्य सेवाको विस्तार, दक्ष जनशक्तिको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण र पर्याप्त बजेट विनियोजनका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अवसरका रूपमा समेत यस दिवसलाई लिइन्छ ।
विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नुपर्ने विषय नभई समयमै पहिचान, सहयोग र उपचार आवश्यक पर्ने स्वास्थ्य अवस्थाका रूपमा बुझ्न प्रेरित गर्छ । मानसिक स्वास्थ्यसम्बन्धी चुनौती भोगिरहेका व्यक्तिका अनुभवलाई सम्मान गर्दै उनीहरूलाई सहयोग, परामर्श र उपचारमा सहज पहुँच सुनिश्चित गर्न सके मात्र समावेशी र सहयोगी समाज निर्माण गर्न सकिने सन्देश यस दिवसले दिएको छ ।


विश्व खबर 



















