काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग बढाउन अनलाइनबाट महसुल बुझाउने घरेलु ग्राहकलाई थप सहुलियत दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा प्राधिकरण सञ्चालक समितिको बैठकले डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्ने घरेलु ग्राहकलाई पहिलो चरणमा छ महिनाका लागि थप ०.५० प्रतिशत स्मार्ट ‘पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार मिटर रिडिङ भएको सात दिनभित्र विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकले हाल पाउँदै आएको दुई प्रतिशत छुटलाई निरन्तरता दिइनेछ। यसका अतिरिक्त अनलाइन माध्यमबाट महसुल बुझाउने घरेलु ग्राहकले थप ०.५० प्रतिशत रिवार्ड सुविधा पाउनेछन् ।
मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट जुनसुकै समयमा विद्युत् महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले पनि उक्त अतिरिक्त रिवार्ड प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाले ग्राहकलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्नुका साथै महसुल सङ्कलन प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्राधिकरणले पहिलो चरणमा छ महिनाका लागि लागू हुने यस योजनाको प्रभावकारिता मूल्याङ्कन गरी आगामी दिनमा निरन्तरता दिने वा नदिने विषयमा थप निर्णय गर्ने जनाएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो योजनाबाट अनलाइन माध्यम प्रयोग गर्ने घरेलु विद्युत् उपभोक्ता लाभान्वित हुने अपेक्षा गरिएको छ ।


विश्व खबर 




















