काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरका किसानले सडक र पुलको अभावमा खेतीपाती गर्न सास्ती खेप्नुपरेको छ । खेतसम्म ट्र्याक्टर तथा अन्य कृषि उपकरण पुर्याउन नसक्दा खनजोतदेखि कृषि उत्पादन बजारसम्म पुर्याएर बिक्री गर्नसमेत समस्या हुने गरेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीले घेरिएको कुतियाकवरमा ४२ परिवारको बसोबास छ । पश्चिमतर्फ भारतसँग सीमा जोडिएको यस बस्तीका स्थानीयको मुख्य पेसा कृषि हो । यहाँ करिब ५० बिघा खेतीयोग्य जमिन रहेको छ। पछिल्लो समय किसानले धान र गहुँसँगै बेसार तथा विभिन्न तरकारीखेती गर्दै आएका छन् ।
बेसार र तरकारीखेतीबाट राम्रो आम्दानी हुने भए पनि सडकको पहुँच नहुँदा किसानले आवश्यक कृषि उपकरण खेतसम्म पुर्याउन पाएका छैनन् । स्थानीय टेकबहादुर सुनारका अनुसार नेपालतर्फबाट खेतसम्म पुग्ने सडक नहुँदा ट्र्याक्टर ल्याउन कठिन छ । भारतबाट खनजोत तथा बाली झार्ने कामका लागि ट्र्याक्टर ल्याउँदा भारतीय सीमा सुरक्षा बलले जिल्ला प्रशासनको अनुमति माग्ने गरेको उनले बताए ।
“खेती गर्न खनजोतका लागि ट्र्याक्टर ल्याउन निकै मुस्किल पर्छ । नेपालतर्फ सडकको पहुँच छैन,” सुनारले भने । जोगबुढा नदीमा रहेको झोलुङ्गे पुलबाट पैदल आवतजावत गर्न सहज भए पनि कृषि उपकरण र अन्य सवारीसाधन ओसारपसार गर्न समस्या रहेको उनको भनाइ छ । उनले यस वर्ष छ कट्ठामा धान र १८ कट्ठामा बेसारखेती गरेको छ ।
स्थानीय मोतिराम सुनारले कृषि उत्पादन बिक्री गर्न सहज सडक पहुँच आवश्यक रहेको बताउनुभयो। “हामीले उत्पादन गरेका वस्तु बिक्री गर्न सडकको पहुँच हुनुपर्छ। यहाँका स्थानीयको एउटै माग जोगबुढा नदीमा पक्की पुल निर्माण हो,” उनले भने ।
केही वर्षअघिसम्म कुतियाकवरका किसानले आफ्नो उत्पादन भारतका बजारमा बिक्री गर्दै आएका थिए । तर पछिल्लो समय भारतीय पक्षले आवतजावत तथा कृषि उपकरण ल्याउने विषयमा कडाइ गरेपछि उत्पादन बिक्री गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ ।
धान र गहुँको तुलनामा बेसारखेतीबाट राम्रो आम्दानी हुने भएकाले यहाँका किसान बेसारखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय खडक बुढाले १२ कट्ठामा बेसारखेती गर्दै आएको छ । उनका अनुसार बेसारखेतीबाट वार्षिक एकदेखि डेढ लाख रुपैयाँसम्म बचत हुने गरेको छ । तर कृषि उपकरणको अभाव र बजारसम्म पुग्ने सहज बाटो नहुँदा खेती विस्तार गर्न कठिन भएको छ ।
“बेसारखेतीबाट एकदेखि डेढ लाख रुपैयाँ बचत गर्छौं, तर सडकको पहुँच नहुँदा कृषि उपकरण प्रयोग गर्नबाट वञ्चित छौँ,” बुढाले भने । विगतमा उत्पादन गरेको बेसार भारतमा बिक्री हुने गरेको भए पनि यस वर्ष भारतीय पक्षले रोक लगाएपछि बजारको चिन्ता थपिएको उनले बताए ।
“यहाँको माटो राम्रो छ र उत्पादन पनि राम्रो हुन्छ । तर सडकको पहुँच नहुँदा खेती गर्न समस्या छ । अहिले बजारको समस्या पनि थपिएको छ,” उनले भने ।
स्थानीयका अनुसार गत वर्षसम्म नदीमा पानीको सतह घटेपछि ट्र्याक्टर खेतसम्म पुग्ने गरेको थियो । तर जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि उक्त बाटो बन्द भएको छ । जोगबुढा र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको बस्ती तटबन्ध निर्माणपछि सुरक्षित बने पनि कृषि उपकरण ओसारपसारमा भने थप कठिनाइ भएको किसानको भनाइ छ ।
दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरका किसानले भोगिरहेको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो। यसअघि भारतीय क्षेत्रबाट ट्र्याक्टर ल्याएर खेत खनजोत गर्ने गरिएको भए पनि नेपालतर्फ सडकको पहुँच नहुँदा समस्या भइरहेको उनले स्वीकार गरे ।
खेतीयोग्य जमिन र उत्पादनको सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा कुतियाकवरका किसानले समस्या भोग्नुपरेको छ । खेतसम्म कृषि उपकरण पुर्याउन र उत्पादित वस्तु बजारसम्म लैजान सहज हुने गरी जोगबुढा नदीमा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ । पुल निर्माण भए कृषि उत्पादनको बजारीकरण सहज हुने र किसानको आम्दानी बढाउन सहयोग पुग्ने स्थानीयको विश्वास छ ।


विश्व खबर 




















