images
images
  • बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन चुनौती, चार बिघाबाट सात कट्ठामा सीमित

    काठमाडौं – बाँकेमा जङ्गली धानको क्षेत्रफल घट्दै गएपछि यसको मूल बीउ संरक्षण गर्न चुनौती थपिएको छ । जिल्लाका तालतलैया, नदी आसपासका क्षेत्र तथा सिमसारमा पाइने जङ्गली धान यस वर्ष विगतको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।

    धान प्रजननविज्ञ डा. मुकुन्द भट्टराईका अनुसार यस वर्ष बाँकेमा जङ्गली धानको अवस्था करिब ४० प्रतिशतमा सीमित भएको छ । उनले जिल्लाका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरेपछि जङ्गली धानको अवस्था चिन्ताजनक देखिएको बताए ।

    बाँकेलाई स्थानीय बाली तथा जङ्गली धानको अध्ययन केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको उल्लेख गर्दै डा. भट्टराईले जङ्गली धान घट्नुका कारणबारे विस्तृत अध्ययन गरिने जानकारी दिए । उनका अनुसार जङ्गली धानसँगै रैथाने बालीको संरक्षणका लागि स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने योजना छ । यसको विस्तृत अध्ययन तथा अनुसन्धान गर्न करिब १० वर्ष लाग्न सक्ने उनले बताए ।

    बैजनाथ गाउँपालिका–४ स्थित सुतैया ताल, डुडुवाका केही क्षेत्र, मानखोला आसपास तथा कोहलपुरका विभिन्न भागमा जङ्गली धान पाइने गरेको छ । संरक्षणका प्रयास भइरहे पनि यसको उत्पादन र क्षेत्रफल घट्दै जाँदा अस्तित्व नै सङ्कटमा पर्न सक्ने जोखिम बढेको विज्ञहरूको भनाइ छ ।

    अगुवा कृषक तथा जिन बैंक गाभर भ्यालीका प्रमुख पुरमल बस्नेतका अनुसार जङ्गली धान वैशाखदेखि तालतलैया तथा नदी आसपासका क्षेत्रमा प्राकृतिक रूपमा उम्रिने गर्छ । असोजमा यसको बीउ सङ्कलन गरी मूल बीउ जोगाउने प्रयास गरिँदै आएको छ । तर यस वर्ष अत्यधिक वर्षा तथा जलवायु परिवर्तनको प्रभावका कारण बीउ उत्पादन घट्ने चिन्ता बढेको उनले बताए ।

    “विकास भएका धानका प्रजातिको मूल स्रोत नै जङ्गली धान हो । यसको संरक्षण गर्ने दायित्व हामी सबैको हो,” बस्नेतले भने ।

    उनले जङ्गली धानको संरक्षणमा स्थानीय तहको सक्रियता अझै आवश्यक रहेको बताए । यस धानको विस्तृत अध्ययन तथा अनुसन्धानका लागि श्रीलङ्काबाट विज्ञ टोली केही दिनभित्रै बाँके आउने तयारी रहेको पनि उनले जानकारी दिए ।

    राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक स्रोत केन्द्र, खुमलटारले बाँकेसहित विभिन्न जिल्लामा जङ्गली धानको संरक्षण र उपयोगबारे अध्ययन गरिरहेको छ । बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, पाल्पा, चितवन र स्याङ्जालगायत जिल्लामा जङ्गली धान पाइने गरेको छ ।

    बस्नेतका अनुसार बाँकेमा अघिल्लो वर्ष करिब चार बिघा क्षेत्रफलमा फैलिएको जङ्गली धान अहिले घटेर सात कट्ठामा सीमित भएको छ । जिल्लामा मुख्य रूपमा ‘निवारा’ र ‘रुफिपोगन’ नामका दुई प्रजातिका जङ्गली धान फेला परेका छन् ।

    जङ्गली धानको आनुवंशिक विविधता पहिचान गर्न केही वर्षअघि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमुना सङ्कलन गरी डीएनए परीक्षणका लागि पठाइएको थियो ।

    जङ्गली धानले विकसित धानका प्रजातिको आनुवंशिक स्रोतका रूपमा महत्त्व राख्ने भएकाले यसको संरक्षण, अध्ययन र बीउ सङ्कलनलाई प्राथमिकता दिनुपर्ने विज्ञ तथा कृषकको जोड छ । प्राकृतिक बासस्थानको संरक्षण र स्थानीय तहको सक्रिय सहभागिताबिना जङ्गली धानको अस्तित्व जोगाउन कठिन हुने उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images