images
images
  • नेपालगञ्जमा सहुलियतको चामल किन्न उपभोक्ताको आकर्षण

    काठमाडौं – चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ताको आकर्षण बढेको छ ।

    सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयातमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि सहुलियत मूल्यमा चामल खरिद गर्न उपभोक्ता बिक्री केन्द्रमा पुग्न थालेका हुन् ।

    दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको बिक्री केन्द्रबाट सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु. ५०० छुट उपलब्ध गराइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए ।

    उनका अनुसार चाडपर्व अवधिभर एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएकोमा हालसम्म ७५ क्विन्टलभन्दा बढी बिक्री भइसकेको छ ।

    बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ । बजार मूल्यभन्दा कम दरमा चामल उपलब्ध भएपछि उपभोक्ताले खरिदमा प्रत्यक्ष आर्थिक लाभ लिइरहेको सूचना अधिकारी घिमिरेले बताए ।

    सहुलियत दरमा चामल उपलब्ध गराउँदा चाडपर्वका बेला उपभोक्तालाई खाद्यान्न खरिदमा राहत पुग्ने अपेक्षा गरिएको छ । सीमावर्ती भारतीय बजारबाट चामल आयातमा कडाइ भएपछि स्थानीय बजारमा सहुलियत मूल्यको चामलप्रति उपभोक्ताको चासो बढेको देखिएको छ ।

    कम्पनीले निर्धारण गरेको एक सय क्विन्टल चामलको कोटा सकिएमा बिक्री वितरण विभाग र काठमाडौँस्थित प्रधान कार्यालयसँग समन्वय गरेर थप कोटा माग गर्न सकिने घिमिरेले जानकारी दिए ।

    चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको बिक्री केन्द्रबाट थप चामल बिक्री गर्न आवश्यकताअनुसार व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images