images
images
  • चाडपर्वमा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने

    काठमाडौं — चाडपर्वका बेला काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाइने व्यवस्था लागू हुने भएको छ ।

    नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म उक्त व्यवस्था कार्यान्वयन गर्ने सहमति भएको हो । यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका बिक्री केन्द्रमा बुझाएर उपलब्ध अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन् । यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रलाई समेटेर पाँच स्थानमा साझा बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ । उपभोक्तालाई सहज हुने गरी प्रारम्भिक रूपमा पाँच स्थान तय गरिएको र आवश्यकताअनुसार थप केन्द्रसमेत विस्तार गर्न सकिने उनले बताए ।

    संघका अनुसार सिलिन्डर साटासाटका लागि काठमाडौँको बालाजुस्थित नेपाल ग्यासको आउटलेट, सीतापाइलास्थित एभरेस्ट तथा सुगमलगायत कम्पनीका केन्द्र, सुकेधारास्थित बाबा ग्यासको बिक्री केन्द्र र पेप्सीकोलास्थित सगर ग्यासको आउटलेट तोकिएका छन् । त्यस्तै, ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको केन्द्रलाई पनि सम्भावित स्थानका रूपमा राखिएको छ ।

    अध्यक्ष चन्दले काठमाडौँ उपत्यकामा बिक्री हुने सबै ब्रान्डका सिलिन्डरलाई यस व्यवस्थामा समेटिएको जानकारी दिएका छन् । उनका अनुसार साझा बिक्री केन्द्रमा जम्मा भएका विभिन्न कम्पनीका खाली सिलिन्डर सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा साटासाट गर्नेछन् । यसबाट उपभोक्तालाई सिलिन्डर फिर्ता गर्ने वा अर्को कम्पनीको सिलिन्डर लिने प्रक्रियामा झन्झट नहुने संघको विश्वास छ ।

    यसअघि नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले चाडपर्वका बेला घरमा एक–दुईवटा सिलिन्डर मात्र भएका उपभोक्ताले ग्यास अभावका कारण सास्ती खेप्न नपरोस् भन्दै ग्यास उद्योगीलाई सहज आपूर्तिको विकल्प खोज्न आग्रह गरेको थियो ।

    पछिल्लो समय अविरल वर्षा, बाढीपहिरो तथा सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकामा ग्यास वितरणमा केही असहजता देखिएपछि उद्योगीहरूले साझा बिक्री केन्द्रमार्फत सिलिन्डर साटासाट गर्ने व्यवस्था अघि बढाएका हुन् ।

    चाडपर्वका बेला ग्यासको माग बढ्ने भएकाले नयाँ व्यवस्थाले उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउन र वितरण प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images