images
images
  • पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

    काठमाडौं – जिल्ला प्रहरी कार्यालय पर्साले आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ ।

    चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित तथा उल्लासमय वातावरणमा सम्पन्न गराउने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

    चाडपर्वका समयमा शान्ति सुरक्षामा खलल पुग्ने तथा हुनसक्ने विभिन्न आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गरिने प्रहरीले जनाएको छ । भीडभाड हुने बजार तथा व्यापारिक क्षेत्र, सार्वजनिक यातायात, धार्मिक तथा सांस्कृतिक स्थललगायत संवेदनशील क्षेत्रमा विशेष निगरानी, गस्ती तथा चेकजाँच बढाइनेछ ।

    प्रहरीले सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, जुवातास नखेल्न तथा आतिशबाजी नगर्नसमेत आग्रह गरेको छ । साथै, चाडपर्वका क्रममा हुने आवतजावत, बजार तथा व्यापारिकस्थलमा बढ्ने भीड, सार्वजनिक यातायातमा हुने चाप तथा धार्मिक–सांस्कृतिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र जनमैत्री बनाइने जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले सबै नागरिकलाई सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह गर्दै आपराधिक घटना तथा गतिविधिमा संलग्न व्यक्तिबारे समयमै प्रहरीलाई सूचना दिन अनुरोध गरेको छ ।

    प्रहरीले सुरक्षित समाज निर्माण गर्नु सबैको साझा जिम्मेवारी र दायित्व भएकाले चाडपर्वका समयमा संयमित, जिम्मेवार र सतर्क रहनसमेत नागरिकलाई अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images