images
images
  • इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    काठमाडौं– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् ।

    सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ ।

    इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए ।

    विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन् ।

    नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उनले देशलाई कठिन परिस्थितिबाट अघि बढाएको दाबी गरेका छन् ।

    अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ ।

    सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए ।

    त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

    युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ ।

    नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आएका छन् ।

    प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उनी अक्टोबर ७ पछि पदमा रहेका एकमात्र वरिष्ठ अधिकारी हुन् ।

    प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाएका छन् ।

    चुनावी बहसमा गाजाको मानवीय संकट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ ।

    इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन् ।

    यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६८ प्रतिशत छ ।

    हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images