images
images
  • देशका अधिकांश स्थानमा वर्षा, शुक्रबारसम्म कायम रहने

    काठमाडौं – देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र वर्षाको क्रम शुक्रबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबारदेखि भने मौसममा क्रमशः सुधार आउने विभागको पूर्वानुमान छ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । उनका अनुसार आज दिनभर वर्षा हुने तथा रातिदेखि केही सुधार आउने सम्भावना छ । शुक्रबार दिउँसो भने पुनः वर्षा हुने सम्भावना रहेको उनले बताए ।

    “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ। आज दिनभर वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः पानी पर्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार आउनेछ,” मौसमविद् लामिछानेले भने ।

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको विभागले जनाएको छ । आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ । उक्त वर्षा भारी वर्षाको श्रेणीमा परेको विभागले जनाएको छ ।

    हाल काठमाडौं उपत्यकासहित बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

    विभागले वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images