images
images
  • भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास बनाउन साझेदार संस्था आह्वान

    काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थासँग प्रस्ताव आह्वान गरेको छ ।

    प्राधिकरणले आज सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहमा प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्न इच्छुक साझेदार सङ्घसंस्थालाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

    प्राधिकरणका अनुसार इच्छुक सङ्घसंस्थाले प्रस्तावमा आफूले निर्माण गर्न चाहेको अस्थायी आवासको सङ्ख्या, निर्माण गर्ने स्थान र सम्बन्धित स्थानीय तहको नाम स्पष्ट खुलाउनुपर्नेछ। साथै, निर्माण कार्य सुरु गर्ने अनुमानित मिति र सम्पन्न गर्ने समयसीमासहितको कार्ययोजना पनि प्रस्तावमा समावेश गर्नुपर्नेछ ।

    यसअघि बाढी प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत प्रस्तावमा उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतले इच्छुक साझेदार सङ्घसंस्थाले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी आवास निर्माण गर्नुपर्ने जानकारी दिए ।

    “अस्थायी आवास बनाउन इच्छुक सङ्घसंस्थाले त्यससम्बन्धी सम्पूर्ण विवरण खुलाई सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ,” प्रवक्ता महतले भने ।

    प्राधिकरणले बाढी प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित अस्थायी आवासको व्यवस्था गर्न साझेदार सङ्घसंस्थाको सहकार्यमा निर्माण कार्य अघि बढाउन लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images