काठमाडौं – अमेरिकाको शिकागोमा अध्यागमन अधिकारीको गोली प्रहारबाट घाइते भएकी ३१ वर्षीया मारिमर मार्टिनेजले अमेरिकी सरकारविरुद्ध सङ्घीय अदालतमा मुद्दा दायर गरेकी छन् ।
मार्टिनेजले आफूमाथि गोली चलाउने अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सोमबार मुद्दा दायर गरेकी हुन् । सन् २०२५ अक्टोबर ४ मा भएको घटनामा सीमा सुरक्षा अधिकारी चार्ल्स एक्जमले मार्टिनेज सवार गाडीमा पाँच पटक गोली चलाएका थिए ।
गोली प्रहारबाट मार्टिनेजका दुवै खुट्टा, हात र छातीमा गरी सात ठाउँमा चोट लागेको थियो । पेसाले विद्यालय शिक्षिका सहयोगी रहेकी मार्टिनेजसँग कानुनी रूपमा बन्दुक राख्ने अनुमति भए पनि घटनाका क्रममा उनले अधिकारीमाथि कुनै आक्रमण नगरेको दाबी गर्दै आएकी छन् ।
घटनापछि अमेरिकी सरकारले मार्टिनेजले अधिकारीको गाडीलाई ठक्कर दिन खोजेको र उनी ‘आतङ्ककारी’ भएको आरोप लगाएको थियो । तर पछि अदालतमा पेस गरिएको भिडियो तथा अनुसन्धानबाट सरकारी दाबीमाथि प्रश्न उठेको थियो ।
अदालतमा पेस गरिएको भिडियोमा अधिकारी गाडीबाट ओर्लिएको करिब दुई सेकेन्डमै कुनै स्पष्ट चेतावनी नदिई गोली चलाएको देखिएको बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धानपछि सन् २०२५ नोभेम्बरमा मार्टिनेजमाथि लगाइएका सबै आरोप खारेज गरिएको थियो ।
आफूमाथि भएको घटनालाई लिएर कानुनी लडाइँ सुरु गरेकी मार्टिनेजले यस्ता घटना सामान्य रूपमा स्वीकार गर्न नहुने बताएकी छन् ।
“हाम्रो समाजमा भइरहेका यस्ता घटनाहरू सामान्य होइनन् । हामी यस्तो अन्यायलाई चुपचाप सहनु हुँदैन,” पत्रकार सम्मेलनमा उनले भनिन् ।
आफूले भोगेको जस्तो अन्याय अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले कानुनी प्रक्रिया अघि बढाएको मार्टिनेजले बताएकी छन् । उनको मुद्दाले अध्यागमन तथा सीमा सुरक्षा अधिकारीले बल प्रयोग गर्ने क्रममा अपनाउनुपर्ने मापदण्ड र त्यसको जवाफदेहिताबारे पनि प्रश्न उठाएको छ ।


विश्व खबर 




















