काठमाडौं– नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो ।
जस अनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । गगन थापा, किशोरिसंह राठौर र श्यामकृष्ण खड्की सभापतिको उम्मेदवार छन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । यस्तै, महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ । उनी पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन् ।
खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन् । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।
यस्तो छ सूची–
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन भोलि तय गरिएको छ ।
कांग्रेसको जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाइएको छ । जस अनुसार एक सभापति, एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, ११ निर्वाचित र चार मनोनीत गरी १५ सहमहामन्त्री, एक मनोनीत कोषाध्यक्ष तथा ६६ मनोनीत केन्द्रीय सदस्यसमेत रहने छन् ।


विश्व खबर 



















