images
images
  • प्रस्तावित राजदूतहरूविरुद्धको उजुरी आज खोलिँदै

    काठमाडौं– सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि प्रस्ताव गरेको नयाँ राजदूतहरूविरुद्ध आएका उजुरीहरू आज खोलिने भएको छ ।

    आज सवा ११ बजे बस्ने सङ्घीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा प्राप्त उजुरीहरू खोल्न लागिएको हो । साथै प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण पनि गरिने छ ।

    यसअघि असोज ८ गते बसेको समितिको बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूतको सुनुवाई प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै उजुरी आह्वान गरेको थियो । सोही अनुसार केही उजुरीहरू प्राप्त भएको बताइएको छ ।

    यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको थियो ।

    निर्णय अनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ ।

    त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ ।

    जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

    यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।

    संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images