images
images
  • बाढीले बेनी–दरवाङ सडक कटान गर्दा दुखुबेँसी बस्ती जोखिममा

    काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गरेपछि दुखुबेँसी बस्ती जोखिममा परेको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले सडकको ठूलो हिस्सा बगाउनुका साथै बस्ती नजिकै पहिरो पुगेपछि स्थानीयवासी त्रसित भएका छन् ।

    बालौटेमा आएको बाढीले मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मुख्य सडकमा क्षति पुर्‍याएको हो । पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने सडक अवरुद्ध भएपछि यातायातसमेत प्रभावित भएको छ ।

    मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार अर्मनखोलामा आएको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराएपछि नदीले सडकतर्फ कटान गरेको हो। सडक भत्किएपछि दुखुबेँसीको फेदीसम्म पहिरो पुगेको उहाँले बताए ।

    “अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ,” अध्यक्ष गर्बुजाले भने, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”

    अहिले सञ्चालनमा ल्याइएको वैकल्पिक सडक साँघुरो, कच्ची र ग्रेड नमिलेको भएकाले ठूला सवारीसाधन सञ्चालनमा समस्या छ । कतिपय स्थानमा सवारीसाधन भुइँमा ठोक्किने अवस्था रहेको छ भने ह्युम पाइप राखिएको स्थानमा पुनः बाढी आएर सडक बगाउने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ ।

    उक्त वैकल्पिक सडक बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने भएकाले सवारी चाप बढी छ । त्यसमाथि म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण ढुवानी गर्ने सवारीसाधन पनि यही सडकबाट आवतजावत गर्ने गरेका छन् ।

    गण्डकी प्रदेश सरकारअन्तर्गतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बालौटेमा करिब १०० मिटर दूरीसम्म सडकको कालोपत्रे भागदेखि कुनासम्मै भत्किएको छ ।

    सडकको अवस्था पैदलयात्राका लागि समेत जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो। नदीको किनारबाट पक्की पर्खाल उठाएर सडक पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उलकको भनाइ छ। सडकको डिलतर्फ पर्याप्त ठाउँ नभएकाले भित्ता काटेर सडक विस्तार गर्दा बस्तीलाई थप जोखिम हुने उहाँले बताउनुभयो ।

    मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार पहिरोका कारण करिब १४० घरपरिवार बसोबास गर्ने दुखुबेँसी बस्ती जोखिममा परेको छ । स्थानीयले सडक सञ्चालनसँगै नदी कटान रोकथाम र बस्ती संरक्षणको काम तत्काल अघि बढाउन माग गरेका छन् ।

    यसैबीच, क्षतिग्रस्त सडक पुनर्निर्माण तथा बस्ती संरक्षणको काम अघि बढाउन मंगलबार गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजा तथा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँसहितको टोलीले बालौटे क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

    निरीक्षणका क्रममा सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, नदी कटान नियन्त्रण र बस्ती संरक्षणका कामलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताए । तत्काल बस्तीलाई थप जोखिम नहुने गरी सडक पुनर्निर्माण गरेर दसैँअघि नै यातायात सञ्चालन गर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम पूरा गर्नुपर्ने उनको भनाइ छ ।

    मन्त्रालयका सचिव शर्माका अनुसार सडक मर्मतका लागि पूर्वाधार विकास कार्यालयसँग रहेको मौजुदा तथा अख्तियारी प्राप्त बजेटबाट ग्यावियन जाली खरिद र मजदुरको ज्याला व्यवस्थापन गर्दै थप बजेटको प्रक्रिया अघि बढाइनेछ । मन्त्रालयले आवश्यक स्रोत व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने तथा कामलाई तीव्रता दिन जलविद्युत् आयोजनाका उपकरणसमेत परिचालन गर्ने समझदारी भएको उहाँले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारले विपद्का कारण क्षतिग्रस्त प्रदेशअन्तर्गतका अन्य सडकलाई समेत तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन बजेटको अभाव हुन नदिने सचिव शर्माले बताए। कतिपय जिल्लामा क्षतिग्रस्त सडक मर्मतको काम यसअघि नै सुरु भइसकेको उनको भनाइ छ ।

    बेनी–दरवाङ सडक पश्चिम म्याग्दीका तीन गाउँपालिकाका बासिन्दाका साथै जलविद्युत् आयोजना र स्थानीय व्यापारिक गतिविधिका लागि समेत महत्वपूर्ण मार्ग भएकाले यसको तत्काल पुनर्निर्माण र नदी नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images