images
images
  • समावेशिताको चरम दुरुपयोग गर्दै अरबपति चौधरी आरक्षण कोटामा कांग्रेसको उपसभापति उम्मेदवार 

    काठमाडौं– नेपालको संविधानले व्यवस्था गरेको समावेशिताको ‘चोर बाटो’ प्रयोग गर्दै  विश्वकै अरबपतिमा गणना भएका उद्योगपति विनोद चौधरीले कांग्रेसको जारी महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

    उनले मङ्गलवार मधेसी कोटाबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेपालको संविधानले दलित आदिवासी, जनजाति, मधेसी लगायत पिछडिएको वर्गका लागि कोटा आरक्षणको व्यवस्था गरेको छ ।

    अरबपति चौधरीले  आफ्नो थरका आधारमा काँग्रेसको विधानलाई टेक्दै उम्मेदवारी दिएका हुन् ।

    नेपालको संविधान र नेपाली काँग्रेसको विधानले पनि अरूसँग खुल्ला प्रतिस्पर्धा गर्न नसक्नेहरूलाई  राजनीतिको मूलधारमा ल्याउन यस्तो व्यवस्था गरेको एक नेताले विश्वखबरलाई बताए । चौधरी  पटक पटक संसद भइसकेका छन् ।

    उनी आर्थिक , राजनीतिक रूपमा नेपालको अग्रपङितमा छन् । उनले राजनीतिको छायौँ लगेर आफ्नो उद्योग र व्यवसायमा प्रयोग गर्दै आएका छन् ।

    वैधानिक रूपमा उनले मधेसी कोटाबाट उम्मेदवारी हाल्न मिल्ने भए पनि नैतिक रूपमा लाजले पनि लाज मानेको छ ।

    उनले खुल्लाबाट उम्मेदवारी दर्ता गरेको भए पनि धेरैले प्रश्न उठाउन सक्दैनथे ।

    तर विपन्न, आर्थिक रूपले पछि परेको समुदायलाई अगाडि ल्याउन व्यवस्था गरेको कोटामा गएर  प्रतिस्पर्धा गर्नुलाई धेरैले विधानले व्यवस्था गरेको चोर बाटोको प्रयोग भनेर समेत टिप्पणी गरेको  छन् ।

    वरिष्ठ पत्रकार एवं मानवअधिकारकर्मी पुरुषोत्तम दाहाल यसलाई संविधानको भावनाको चरम दुरुपयोग भएको टिप्पणी गर्छन् ।

    उनी भन्छन्– आज मात्र होइन हिजो देखि नै राज्यका सञ्चालक सँग नमिलेको विषय यही हो। एउटा अरबपति मधेसी, वा दलित कोटमा पर्छ, तर गरिब बाहुन क्षेत्री वा अन्य समूह थरकै कारणले कोटामा पर्न पाउँदैनन् ।

    उनका अनुसार नेपालको संविधानले आर्थिक , र।राजनीतिक, सामाजिक रूपले पछाडि परेका वर्गका लागि आरक्षणको व्यवस्था गरिएको हो, त्यसको सुरु देखि अहिले सम्म चरम दुरुपयोग भएर हुने खानेहरूले कब्जा गरिरहेका छन् ।

    अमेरिकी व्यावसायिक पत्रिका फोब्र्स को सन् २०२६ को विश्वका अरबपतिहरूको सूचीअनुसार नेपालका एक मात्र डलर अरबपति विनोद चौधरी १,९८२ औँ स्थानमा रहेका छन् ।

    चौधरीको सम्पत्ति र विश्व वरीयताको मुख्य विवरण अनुसार उनको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २ अर्ब नेपाली रुपैयाँ) पुगेको छ ।

    सन् २०२५ मा उनको सम्पत्ति २ अर्ब डलर रहेको थियो, जसमा यस वर्ष करिब १०० मिलियन डलरको वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images