images
images
  • हुम्लामा हिमपात र वर्षा, जनजीवन प्रभावित

    काठमाडौं – हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेपछि चिसो बढेको छ भने ग्रामीण क्षेत्रमा आवतजावतसमेत प्रभावित भएको छ ।

    नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ । त्यस्तै अदानचुली, ताँजाकोटलगायत जिल्लाका तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक कामकाज प्रभावित भएको छ ।

    लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेका छन् । सर्केगाड गाउँपालिका–१ जैरको खच्चाका दीपक कार्कीका अनुसार निरन्तर वर्षाका कारण खच्चामा सडक अवरुद्ध भएको छ ।

    उनका अनुसार खच्चामा सुक्खा पहिरो जाने क्रम रहेकाले वर्षाका कारण थप समस्या भएको हो । “खच्चामा सुक्खा पहिरो आइरहने भएकाले समस्या भएका बेला निरन्तरको वर्षाले सडक पूरै अवरुद्ध भएको छ,” उनले बताए ।

    वर्षाका कारण पाक्न लागेको तथा खेतबारीमा रहेका अन्नबाली र तरकारीमा समेत क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।

    अचानक चिसो बढ्दा पशुचौपायासमेत प्रभावित भएका छन् । खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा चिसोबाट जोगाउन समस्या भएको स्थानीयले बताएका छन् ।

    मौसममा आएको अचानक परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित जोखिमप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न क्षेत्रमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन आग्रह गरेका छन् । वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको र जिल्लाका केही क्षेत्रमा अझै वर्षा जारी रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images