काठमाडौं – असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुललाई आगामी बडादसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम तीव्र पारिएको छ । सडक डिभिजन कार्यालय पोखराले पुलमा २४सै घण्टा काम भइरहेको जनाएको छ ।
बाढीका कारण एक सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित आवागमन प्रभावित भएको थियो । सुरुमा दुई जिल्लाबीचको सडक सम्पर्क नै विच्छेद भए पनि अहिले वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेका छन् ।
चाडपर्वको समयमा बढ्ने आवागमन र पर्यटकीय गतिविधिलाई ध्यानमा राख्दै मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ पुग्ने मार्ग प्रयोगमा ल्याइएको छ । यद्यपि वैकल्पिक सडक लामो भएकाले यात्रु तथा व्यवसायीलाई थप समय र खर्च लाग्ने गरेको छ ।
मालढुङ्गा पुल क्षतिग्रस्त भएपछि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङसँगै रुकुम र रोल्पातर्फको आवागमनसमेत प्रभावित भएको छ । सडक डिभिजन कार्यालयले मर्मतको कामलाई तीव्रता दिएकाले अबका केही दिनमै पुल सञ्चालनमा ल्याउन सकिने जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त पुलको अवस्थाबारे जानकारी लिन पुगेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन तथा आयात–निर्यातलाई सहज बनाउन पुल तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो। उहाँले पुल मर्मत भइरहँदा वैकल्पिक मार्गबारे पर्यटक तथा यात्रुलाई पर्याप्त जानकारी दिनुपर्नेमा पनि जोड दिए ।
“मालढुङ्गा पुल राष्ट्रिय महत्वको संरचना हो । उक्त पुल जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्छ,” ढकालले भन्नुभयो, “कामको प्रगति पनि राम्रो भइरहेकाले चाँडै सञ्चालनमा आउने देखिन्छ । वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सके यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज हुनेछ ।”
मालढुङ्गा पुल एउटा संरचना मात्र नभई बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सेतु भएको ढकालले बताए । उनका अनुसार कालीगण्डकी करिडोरमार्फत भारत र चीनलाई जोड्ने मार्ग तथा पहाडी भूभाग हुँदै अघि बढेको मध्यपहाडी लोकमार्गको महत्वपूर्ण संगमका रूपमा समेत मालढुङ्गाको भूमिका रहेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुल क्षतिग्रस्त भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको जानकारी दिए । पुलको पहुँचमार्ग पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाइएको र दसैँअघि नै सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँले बताए ।
मालढुङ्गा पुल सञ्चालनमा आएपछि बागलुङ, पर्वतसहित मध्यपहाडी क्षेत्रका जिल्लाबीचको यातायात सहज हुनुका साथै दसैँ–तिहारका बेला हुने यात्रु आवागमन, पर्यटन तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत सहजता आउने अपेक्षा गरिएको ।


विश्व खबर 




















