images
images
  • रसुवाका बाढी प्रभावित ६० परिवारलाई राहत सामग्री वितरण

    काठमाडौं – भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका ६० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बाढीपछि जोखिममा रहेका तथा तत्काल सहयोग आवश्यक भएका परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको हो ।

    गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

    रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेका अनुसार बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका, एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको हो ।

    “पहिलो चरणमा प्रभावितलाई जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ,” न्यौपानेले भने, “आगामी हप्ता सोही गाउँपालिका–१ र ५ मा पनि आवश्यकता र अवस्थाका आधारमा राहत सामग्री वितरण गरिनेछ।”

    यसैबीच, युएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुर गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ । सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहान चिया–नास्ता, दिउँसो खाना तथा खाजा र साँझको खाना उपलब्ध गराउँदै आएको रोयम नेपालकी प्रशासन तथा वित्त सहायक गोमा विष्टले जानकारी दिए ।

    उनका अनुसार स्थानीय वडा कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा प्रभावित परिवारका सदस्यलाई रोजगारी तथा कामको अवसरसमेत उपलब्ध गराइएको छ ।

    रोयम नेपालले बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कम्तीमा ३०० घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ । त्यस्तै, जाडोयामलाई लक्षित गरी एक हजार परिवारलाई सिरक, ब्लाङ्केट, थर्मकोटलगायत न्यानो कपडा तथा तातोपानीका लागि थर्मस र झोला वितरण गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ ।

    “प्रभावित परिवारलाई जीविकोपार्जनका लागि आर्थिक सहयोगसमेत प्रदान गरिनेछ,” विष्टले भने ।

    राहत, रोजगारी र जीविकोपार्जन सहयोगमार्फत विपद्बाट प्रभावित परिवारलाई तत्काल आयआर्जनको अवसर उपलब्ध गराई कठिन परिस्थितिमा दैनिक जीवनयापन सहज बनाउन सहयोग पुग्ने संस्थाको अबशा छ ।

    बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ । रोयम नेपालका व्यवस्थापन संयोजक अनुप खनालका अनुसार नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा क्षति पुगेका खानेपानीका पाइपलाइन मर्मतको काम सुरु गरिएको छ ।

    उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवनयापनमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गरे ।

    रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल (रेन) कार्यक्रमअन्तर्गत युके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन–नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

    गैरसरकारी संस्था आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्युएचएच) को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

    कार्यक्रमअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापनालगायतका क्षेत्रमा सहयोग जारी रहेको संस्थाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images