काठमाडौं – चितवनमा पछिल्लो छ वर्षमा भूमिगत सिँचाइ प्रणालीमार्फत तीन हजार ५८४ हेक्टर कृषि क्षेत्र सिञ्चित भएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लाका विभिन्न क्षेत्रमा डिपबोरिङ र पावरड्रिल ट्युबेल जडान गरी सिँचाइ सुविधा विस्तार गरेको हो ।
आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार आयोजनाले २०७७ सालदेखि काम सुरु गरेको हो । त्यसयता चितवनमा १४२ वटा डिपबोरिङ र ३५७ वटा पावरड्रिल ट्युबेल जडान गरी सिँचाइ सुविधा पुर्याइएको छ ।
चितवनसँगै आयोजना नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र मकवानपुरमा समेत सञ्चालन हुँदै आएको छ । तीन जिल्लामा हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरिएको केसीले जानकारी दिए । ती जिल्लामा २०२ वटा डिपबोरिङ र ६७० वटा पावरड्रिल ट्युबेल जडान गरिएको छ ।
सिँचाइको पहुँच नपुगेका तथा पहाडी क्षेत्रका खेतीयोग्य जमिनमा भूमिगत पानीको प्रयोग गरी सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ । सिँचाइ सुविधा पुगेपछि किसानले बेमौसमी तरकारी उत्पादनसँगै समयमा अन्नबाली लगाउन थालेका छन् ।
पहिले पानीको अभावका कारण खेती गर्न नसक्ने किसानले अहिले सिँचाइको सुविधा पाएपछि नगदेबालीतर्फ आकर्षित हुँदै आयआर्जन बढाउन थालेका छन्। भूमिगत सिँचाइले खेतीयोग्य जमिनको उपयोग बढाउनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुगेको आयोजनाको भनाइ छ ।
यद्यपि पछिल्ला वर्षमा आयोजनाको बजेट घटेका कारण किसानको मागअनुसार सिँचाइ संरचना विस्तार गर्न कठिनाइ भएको प्रमुख केसीले बताए । चालु आर्थिक वर्षमा भने विगतमा निर्माण सुरु गरिएका ट्युबेलको बाँकी काम पूरा गर्ने योजना रहेको उनले जानकारी दिए ।
कतिपय स्थानमा ट्युबेल निर्माण सम्पन्न भए पनि पाइप जडानलगायतका काम बाँकी रहेकाले ती संरचना पूरा गर्ने काम भइरहेको छ । आयोजनाले उपलब्ध स्रोतसाधनअनुसार सिँचाइ सुविधा विस्तार गर्दै जाने जनाएको छ ।
भूमिगत सिँचाइको विस्तारसँगै पानीको अभाव झेल्दै आएका किसानले वर्षायाममा मात्र निर्भर हुनुपर्ने अवस्था कम हुँदै गएको छ । यसले कृषि क्षेत्रमा उत्पादन र किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 




















