images
images
  • मध्यपहाडी लोकमार्गको कास्की खण्डमा तीन पक्की पुल सञ्चालनमा

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । पुल सञ्चालनमा आएसँगै फराकिलो सडक र साँघुरा पुलका कारण लामो समयदेखि हुँदै आएको यातायातको समस्या हटेको छ ।

    मध्यपहाडी लोकमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माका अनुसार पोखरा महानगरपालिका–१ स्थित याम्दी खोलामा दुईवटा तथा अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलानजिक पानीविहाडमा एउटा पुल निर्माण सम्पन्न भएको हो ।

    याम्दी खोलामा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको छ । दुवै पुल ५२–५२ मिटर लामो छन् । अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुल भने १२४ मिटर लामो रहेको इन्जिनियर शर्माले जानकारी दिए ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडक यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल साँघुरा हुँदा सडकको चौडाइअनुसार यातायात सञ्चालन हुन सकेका थिएन ।

    साँघुरा पुलमा विपरीत दिशाबाट आएका सवारीसाधन एकैपटक पार हुन नसक्दा लामो समयसम्म रोकिनुपर्ने अवस्था भएकाले दुर्घटनाको जोखिमसमेत बढाएको थियो । नयाँ पुल सञ्चालनमा आएसँगै सडकको चौडाइअनुसार यातायात सञ्चालन सहज भएको कार्यालयले जनाएको छ ।

    “सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटनाको जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ,” सूचना अधिकारी शर्माले भने, “यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ ।”

    तीनवटै पुल एउटै ठेक्कामार्फत निर्माण गरिएको हो। निर्माणका लागि गीता कन्स्ट्रक्सन, स्याङ्जासँग २०७९ साउन २२ गते २१ करोड ५९ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि तीनवटै पुल सञ्चालनमा ल्याइएको हो ।

    मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।

    मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमतर्फ आवतजावत गर्ने गरेका छन्। मालवाहक तथा सार्वजनिक यातायातसँगै निजी सवारीसाधनका लागि पनि यो मार्ग महत्वपूर्ण मानिन्छ ।

    पुल निर्माण सम्पन्न भएपछि सडकको क्षमता उपयोग बढ्नुका साथै यात्रा समय घट्ने र सवारी आवागमन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images