images
images
  • शिखरबाट ओरालो झरेका इमरान खान अझै सङ्कटमा

    काठमाडौं – सन् १९९२ मार्च २५, पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि जितेको दिन। त्यसै दिन इमरान खान पाकिस्तानी जनताको मनमनमा छाउन सफल भएका थिए।

    सन् २०१८ अगस्ट १७ का दिन उनी पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भए । त्यसै दिनदेखि इमरान खानलाई संसारको नायकको रूपमा गणना गरिन थालियो। खेलकुद र राजनीति दुवैमा सफल हुने संसारका विरलै र दुर्लभ व्यक्तिमध्येको रूपमा उनलाई सबैले चिन्न थाले।

    इमरान खानको नायकको छवि लामो समय टिक्न सकेन । १०० वटाभन्दा बढी अभियोगका कारण उनी अहिले जेलमा छन् । उनका समर्थकहरू भने यसलाई मान्न तयार छैनन्। उनीहरूको मत छ, ‘ती सबै आरोप राजनीतिक प्रतिशोधका कारण मात्र लगाइएको हो।’

    imran khan cric

    सोमबार मात्र हजारौं खान समर्थकहरू पाकिस्तानको सडकमा आएर इमरानको पक्षमा नारा जुलुस गरेका थिए। उनको स्वास्थ्य अवस्थामा चिन्ता जनाउँदै उनका समर्थकहरूले प्रदर्शन गरेका हुन्। उनको परिवारका अनुसार खानले दाहिने आँखाको दृष्टि गुमाइसकेका छन्। सरकारले यसमा चासो दिएको छैन।

    उनलाई १७ वर्षको जेल सजाय सुनाइएको छ। उनी यी सबै अभियोग मान्न तयार छैनन्। आइतबारको प्रदर्शन इस्लामवादबाट २७५ किलोमिटर टाढा लक्की पारवातबाट सुरु भएको हो।

    यो कार्यक्रम गत साता नै तय भएको थियो। तर सत्ता पक्ष र खान नेतृत्वको दल पाकिस्तान तेहरिक इन्साफबीचको वार्ताका कारण रोकिएको थियो। वार्ता विना कुनै निष्कर्ष टुंगिएको थियो।

    राज्यको सूचना चुहाएको अभियोग लागेको उनको साथमा अहिले उनकी श्रीमती भुस्रा बिबि पनि छिन्।

    खायबर पख्तुकामा अहिले पीटीआईको सरकार छ। त्यहाँका मुख्यमन्त्री सोहेल अफ्रिदी बिहीबार उनको क्षेत्रमा पनि प्रदर्शन हुन सक्ने बताउँछन्। केही महिनामा नै सर्वत्र यो प्रदर्शन पुग्ने उनको अपेक्षा छ। उनी हरेक चोकमा यो प्रदर्शन पुग्न सक्ने बताउँछन्।

    प्रदर्शन इस्लामवाद जान तयारी गरिरहेको समयमा अधिकारीहरूले त्यसलाई रोक्न सडकको बीच भागमा ब्लकहरू राख्ने गरेका थिए। खान रिहाइ भएमा वर्तमान राजनीतिक विषयमा पीटीआईका नेतासँग सल्लाह हुने ठहर गर्दै सरकारले रिहाइ नगरेको आरोप लगाएका छन्।

    पार्टीले अहिले तत्काल उनको परीक्षण र उपचार गर्न माग गरेको छ। आन्तरिक मामलामन्त्री माहसिन नाभ्कीले भने अफ्रिदीकै कारण वार्ता भाँडिएको आरोप लगाएका छन्।

    सरकारले खानको उपचारको बारे चासो नदिएको भन्ने आरोपलाई समेत अस्वीकार गरेको छ। गत महिना नै सरकारी अस्पतालमा परीक्षणका लागि लगिएका उनी पुरै ठीक भएको चिकित्सकीय रिपोर्ट रहेको पनि जनाइएको छ।

    खानका पारिवारिक सदस्यले भने उनको अन्य अस्पतालमा उपचार गर्न आवश्यक रहेको जनाइरहेका छन्। सरकार भने खान परिवारप्रति अझ बढी कठोर बनेको छ। २० सेप्टेम्बरका दिन खानकी बहिनी अलिमा खानुमलाई पनि आममानिसलाई भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो।

    सन् २०१८ देखि २०२२ को बीचमा पाकिस्तानको सत्ता सम्हालेका उनको गिरफ्तारीको विरुद्धमा विगतमा लाहोरमा पनि प्रदर्शन भइसकेको छ। सन् २०२३ को मेमा उनको गिरफ्तारीको विरुद्धमा लाहोरमा गरिएको प्रदर्शनमा धेरै तोडफोड समेत भएको थियो। सो प्रदर्शनमा ८ जनाको ज्यान गएको थियो। पछिल्लो समय सेना परिचालन गरेर त्यसलाई नियन्त्रणमा लिइएको थियो।

    सन् १९९२ मा संसारको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि पाएपछि उनले सौकात खानुम मेमोरियल क्यान्सर अस्पतालको स्थापना गरे। आममानिसले निःशुल्क क्यान्सर उपचार गर्न पाउने किसिमले उनले उक्त अस्पताल स्थापना गरेका थिए।

    राजनीतिमा प्रवेश

    imran khan pak1

    सन् १९९६ अप्रिल २५ मा उनले पाकिस्तान तेरेक इन्साफ (पीटीआई) पार्टीको स्थापना गरे। एक दशक सङ्घर्ष गरेको उनको दलले सन् २००२ को संसदीय निर्वाचनमा एक सिट जितेको थियो। सन् २००८ मा भने उनको दलले निर्वाचन बहिस्कार गरेको थियो।

    सन् २०११ मा भ्रस्टाचारविरुद्धको अभियानको नाममा प्रदर्शन गरेपछि पीटीआईको प्रभाव बढेको थियो। आवामी राष्ट्रिय पार्टी पहिलो तथा पीटीआईले सो निर्वाचनमा दोस्रो स्थान पाएका थिए। यसपछि नै खानको पाकिस्तानी राजनीतिमा प्रभाव बढेको हो।

    सन् २०१८ जुलाई २५ का दिन भएको निर्वाचनमा खानले सफलता पाएका थिए। सोही वर्षको अगस्ट १८ मा उनी प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न सफल भएका थिए।

    ओरालो यात्रा

    खानले निर्वाचनमा सफलता पाए पनि उनको उदयलाई सेनासँगको सहकार्यको रूपमा पनि लिइन्छ। गुप्तचरको महानिर्देशकको नियुक्तिको विषयलाई लिएर खान र तत्कालीन सेना प्रमुख जनरल क्युमार जाभेद बजवाबीचको सम्बन्धमा चिसोपना आएको थियो।

    सन् २०२२ नोभेम्बर ३ मा उनीमाथि आक्रमणको प्रयास भएको थियो। सो आक्रमणमा उनी मुस्किलले बचेका थिए। सन् २०२३ को अप्रिलमा संसद्ले उनलाई गरेको विश्वासको मत फिर्ता गरेको थियो।

    imran khan pak

    यसअघि उनले गरेको संसदीय निर्वाचनको निर्णयलाई सर्वोच्च न्यायालयले उल्ट्याइदिएको थियो।

    अहिले खानविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता भइसकेका छन्। गैरकानुनी विवाह, आतङ्कवाद र राज्यको गोप्य सूचना चुहावट तथा अनावश्यक उपहार लिएको आरोप लागेका उनको बाँकी जीवन सहज त हुनेछैन नै तथापि पाकिस्तानमा उनको पक्ष र विपक्षमा थुप्रै प्रदर्शन भइरहेका छन्।

    जेलमा रहँदा नै खानको दल पीटीआईका उम्मेदवारहरू स्वतन्त्र उम्मेदवार भएका थिए। २६५ सिटमा खान समर्थित स्वतन्त्र उम्मेदवारले ९७ स्थानमा सफलता पाएका छन्। नवाज सरिफ नेतृत्वको पीएफएलएनले ७६ तथा पाकिस्तान पिपुल्स पार्टीले ५४ स्थानमा सफलता पाएका थिए। सोही निर्वाचनपछि सेहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री भएका हुन्।

    त्यसयता अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत वैदेशिक निकायसँग सल्लाह गरेर सरिफले त्यहाँको अर्थतन्त्र उकास्ने प्रयास गरेका छन्। तर लगातारको राजनीतिक अस्थिरताका कारण पाकिस्तानको राजनीति अर्थतन्त्र अझै लामो समय उकासिने छाँट छैन। एउटा सफल क्रिकेट खेलाडीबाट राजनीतिमा पाइला चालेका इमरान भने जुनसुकै अवस्थामा रहे पनि सधैं चर्चाको शिखरमा रहे- चाहे पदमा रहँदा होस् या बाहिर। अहिले भने उनको स्वास्थ्य अवस्था पनि धेरैको चासोको विषय बनेको छ।
    बीबीसी, अल जजिरा, पाक भोटर डट ओआरजीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images