काठमाडौं – राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम होइन, जीवनकै अभिन्न हिस्सा बनेको छ । विगत एक दशकदेखि उनले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा रहेका गाईगोरुको हेरचाह गर्दै आएको छ।
फाउन्डेशनमा अहिले करिब ६ सय गाईगोरु छन् । यति ठूलो सङ्ख्यामा रहेका चौपायाको हेरचाह, व्यवस्थापन र दैनिक आवश्यकताको जिम्मेवारी भट्टराईले सम्हाल्दै आएको छ । गाईगोरुको सङ्ख्या धेरै भएकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ ।
कर्मचारीको परिचालनदेखि कामको बाँडफाँडसम्मको जिम्मेवारी भट्टराईकै काँधमा छ । गाईगोरुलाई दानापानी खुवाउने, चरनका लागि लैजाने तथा उनीहरूको दैनिक हेरचाहको काममा उ प्रत्यक्ष रूपमा खटिन्छन् ।
लामो समयदेखि चौपायाको हेरचाह गर्दै आएकाले गाईगोरुसँग आफ्नो विशेष सम्बन्ध स्थापित भएको भट्टराई बताउछन् । उनका अनुसार आफूले बोलाउँदा फाउन्डेशनमा रहेका गाईगोरु आवाज पछ्याउँदै आउने गर्छन् ।
“मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्,” उहाँ भन्नुहुन्छ, “गाईगोरुले मेरो भाषा बुझ्छन्।”
तर ठूलो सङ्ख्यामा रहेका गाईगोरुको व्यवस्थापन भने सहज छैन। विशेषगरी घाँस र परालको पर्याप्त व्यवस्था गर्न नसक्दा समस्या हुने गरेको भट्टराईको भनाइ छ। दैनिक रूपमा ठूलो परिमाणमा घाँस र पराल आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको राजु बताउछन् ।
केही दिनअघि विश्वविद्यालयको जग्गा भाडामा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराएपछि भने चौपायालाई घाँस खुवाउन केही सहज भएको उनले बताए ।
दश वर्षदेखि गाईगोरुको सेवामा निरन्तर खटिरहेका भट्टराईका लागि भने यो काम जिम्मेवारीभन्दा पनि आत्मीयता बनेको छ । उनलाई गाईगोरु देख्दा नै खुसी लाग्छ । चौपायाको हेरचाहमा बितिरहेको दैनिक जीवनप्रति सन्तुष्ट भट्टराई गाईगोरुसँगको आफ्नो सम्बन्धलाई नै आफ्नो जीवनको महत्वपूर्ण हिस्सा मान्ने गर्दछ ।


विश्व खबर 



















