काठमाडौं – काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको उक्त खण्ड शुक्रबारदेखि चार्ज गरिने भएको छ ।
मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब छ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन चार्ज भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यससँगै मातातीर्थबाट चोभारसम्म नियमित रूपमा विद्युत् प्रवाह हुने र काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइनसँगै चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुने बताए ।
उनका अनुसार चोभार सबस्टेसनदेखि ललितपुरको पाटनसम्मको करिब साढे चार किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । उक्त खण्ड निर्माण सम्पन्न भएपछि उपत्यकाको प्रसारण प्रणाली अझ सुदृढ हुने प्राधिकरणको अपेक्षा रहेको छ ।
काठमाडौं उपत्यकामा आगामी हिउँदयाममा बढ्न सक्ने विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । त्यसका लागि चोभार सबस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरी दुई वटा वे तयार पारिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजना सुरु गरिएको हो । उपत्यकाको विद्युत् आपूर्तिलाई पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यसहित अघि बढाइएको आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
ललितपुरको खोकना, बुंगमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाको अवरोधका कारण प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण अघि बढाइएको थियो । स्थानीय अवरोधका कारण ललितपुरतर्फको मूल प्रसारण लाइन निर्माण लामो समयदेखि अघि बढ्न सकेको छैन ।
चोभार सबस्टेसनमा स्थानीय विद्युत् वितरणका लागि ११ केभीका नौ वटा फिडर राखिएका छन् । उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुना लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत्को भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने आशा गरिएको छ ।
हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थदेखि चोभारसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकामा विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ।
चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेलस्थित पाटन सबस्टेसनसम्म करिब साढे चार किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ। त्यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ भने काठमाडौं खण्डमा निर्माण सम्पन्न भएको मातातीर्थ–चोभार लाइन अब सञ्चालनमा ल्याउन लागिएको हो ।
ललितपुरतर्फ खोकना, बुंगमती, हरिसिद्धि र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना भने अझै प्रभावित हुँदै आएको छ ।


विश्व खबर 




















