images
images
  • प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै धर्नामा बसेका राहुललाई सुरक्षाकर्मीले लिए नियन्त्रणमा

    नयाँदिल्ली– प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनलाई जारी राख्दै आएका विपक्षी दलका नेता राहुल गान्धीसहित इन्डिया गठबन्धनका धेरै सांसदहरू मंगलबार नयाँदिल्लीको पार्लियामेन्ट स्ट्रिटबाट सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्। उनीहरु नयाँ दिल्लीको पार्लियामेन्ट स्ट्रिटमा धर्नामा बसेका थिए।

    संसद भवनबाट भारतको निर्वाचन आयोगको मुख्यालय निर्वाचन सदनतर्फ अघि बढेको उनीहरूको ‘लोकतन्त्र बचाउ’ र्‍यालीलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरु प्रदर्शन तीव्र बनाउँदै धर्नामा बसेका थिए।

    विपक्षी गठबन्धनको यो आक्रोश निर्वाचन आयोगको मतदाता नामावलीको ‘विशेष सघन पुनर्परीक्षण’सँग जोडिएका त्रुटि र ‘भोट चोरी’को आरोपबाट उत्पन्न भएको हो। यस पुनर्परीक्षणले ठूलो संख्यामा मतदाताहरूको नाम अन्यायपूर्ण रूपमा हटाउने जोखिम बढाएको दाबी विपक्षीहरूको छ।

    राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ज्ञानेश, अब धेरै भयो भाइ। राजीनामा दिने समय भयो।’

    मार्चका क्रममा केही विपक्षी सांसदहरूले प्रमुख निर्वाचन आयुक्तलाई आरएसएसको पोशाकमा देखाउने कटआउटहरू समेत बोकेका थिए।

    यस धर्नामा प्रियंका गान्धी वाड्रा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र शिवसेनाका सांसद अरविन्द सावन्तलगायतका प्रमुख विपक्षी नेताहरू सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images