images
images
  • जलवायु आपत्कालीन एजेन्डामा आईपीयू सचिवालयसँग नेपालको छलफल

    काठमाडा्र्रैं – अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले जलवायु आपत्कालीन एजेन्डाबारे आईपीयू सचिवालयसँग छलफल गरेको छ ।

    छलफलमा नेपालमा पछिल्ला वर्षहरूमा देखिएका भोटेकोशी र त्रिशूली बाढीका साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमबारे ध्यानाकर्षण गराइएको थियो ।

    सभामुख डोलप्रसाद (डीपी) अर्यालको सचिवालयका अनुसार जलवायुजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता अभिवृद्धिलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा छलफलका क्रममा जोड दिइएको थियो । साथै, यस्ता चुनौती सामना गर्न अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

    नेपालले जलवायु परिवर्तनबाट विशेष रूपमा प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका समस्यालाई अन्तर्राष्ट्रिय संसदीय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ । सोही क्रममा जलवायु आपत्कालीन एजेन्डासम्बन्धी प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले विभिन्न सदस्य राष्ट्रसँग द्विपक्षीय छलफल गरी समर्थन जुटाउने प्रयास गरिरहेको छ ।

    नेपालले जलवायुजन्य विपद्को बढ्दो जोखिम, त्यसको प्रभाव न्यूनीकरण तथा प्रभावित मुलुकलाई आवश्यक सहयोग र सहकार्य उपलब्ध गराउने विषयलाई प्रस्तावमार्फत अन्तर्राष्ट्रिय संसदीय बहसको केन्द्रमा ल्याउने तयारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images