images
images
  • बिलबिजकबिना बिक्री तथा ओसारपसार गरिएका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    काठमाडौं – बिलबिजकबिना मोबाइल फोन बिक्री तथा ओसारपसार गरेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न ब्रान्डका ६३ थान मोबाइल तथा विद्युतीय उपकरण बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० हाकिमचोकस्थित दीपक मोबाइलबाट बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसल सञ्चालक ४१ वर्षीय दीपक प्रसाईंलाई पक्राउ गरेको हो ।

    प्रहरीले प्रसाईंको पसलबाट एप्पलका विभिन्न सिरिजका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई थान, एप्पलको आइप्याड एक थान र भिभोको एक थान गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरेको जनाएको छ ।

    त्यस्तै, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई पक्राउ गरेको छ । उनको साथबाट बिलबिजकबिना बोकेका सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।

    प्रहरीका अनुसार दुवै जनालाई असोज १८ गते पक्राउ गरिएको हो । बरामद मोबाइल तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images