काठमाडौं – ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ नेपालमा आगामी बिहीबार (असोज २२ गते) विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसले यस वर्ष व्यक्तिगत आँखाको हेरचाहसँगै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवामा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय संस्था ‘आइएपिबी’ले अक्टोबर ८ मा विश्वभर ‘आँखालाई माया गरौँ’ अभियान सञ्चालन गर्दैछ । आइएपिबीका अनुसार विश्वका एक अर्बभन्दा बढी मानिस अझै आफूलाई आवश्यक पर्ने आँखा स्वास्थ्य सेवा र उपचारको पहुँचबाट बाहिर छन् ।
नेपालमा नेपाल नेत्रज्योति सङ्घसहित विभिन्न संघसंस्थाले आँखा परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा अन्य गतिविधि सञ्चालन गरी दिवस मनाउँदैछन् ।
अन्धोपनको अवस्था घट्यो
नेपालमा पछिल्लो दशकमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल नेत्रज्योति सङ्घका अनुसार सन् १९७८ मा सङ्घ स्थापना हुँदा सीमित पूर्वाधार र न्यून विशेषज्ञ जनशक्तिबाट सुरु भएको आँखा उपचार सेवा अहिले देशका विभिन्न भूगोलसम्म पुगेको छ ।
आँखा अस्पताल, उपचार केन्द्र, विशेषज्ञ सेवा र समुदायमा आधारित कार्यक्रम विस्तार भएपछि उपचारको पहुँच बढेको छ । यसको प्रभाव अन्धोपनको अवस्थामासमेत देखिएको छ ।
सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन ०।८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो ०।२८ प्रतिशतमा झरेको देखिएको छ ।
तर अन्धोपनको दर घट्दैमा आँखासम्बन्धी सबै समस्या समाधान नभएको नेत्र विशेषज्ञहरू बताउँछन्। ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित रोग र दृष्टिदोष अहिलेका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।
रोकथाम र प्रारम्भिक पहिचानमा जोड
बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ जोखिम थपिरहेको छ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार उपचार सेवामा नेपालले उल्लेखनीय प्रगति गरे पनि अबको प्राथमिकता रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका जनसंख्यासम्म पहुँच विस्तारमा हुनुपर्छ ।
उनका अनुसार आँखाको समस्या गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई परिवर्तन गर्दै नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक छ ।
सङ्घका महासचिव भरतबहादुर चन्दले अस्पताल र उपचार केन्द्र विस्तारसँगै सेवा नपुगेका समुदाय पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सेवा पुर्याउनुपर्ने बताए ।
उनले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोड्दै समुदायमै प्रारम्भिक परीक्षण, प्रभावकारी रिफरल प्रणाली र दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
पाँच करोडभन्दा बढीलाई उपचार
नेपाल नेत्रज्योति सङ्घका अनुसार सङ्घमार्फत हालसम्म ५ करोड २ लाख ४८९ जनाले आँखा उपचार सेवा लिइसकेका छन्। त्यस्तै, ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
सङ्घले हाल २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विदेशी नागरिकलाई समेत आँखा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सङ्घका अध्यक्ष प्रा। डा। चेतराज पन्तले आँखा स्वास्थ्यलाई अस्पताल र उपचारको विषयमा मात्र सीमित गर्न नहुने बताए ।
उनका अनुसार राम्रो दृष्टि शिक्षा, रोजगारी, उत्पादकत्व र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले आँखाको स्वास्थ्यमा गरिएको लगानीलाई मानव विकासमा गरिएको लगानीका रूपमा बुझ्नुपर्छ ।
विद्यालयदेखि कार्यस्थलसम्म परीक्षण आवश्यक
बालबालिका, विद्यार्थी, कर्मचारी, मजदुर, किसान तथा सवारी चालकसहित अधिकांश मानिसको दैनिक जीवन स्पष्ट दृष्टिमा निर्भर हुन्छ । तर आँखासम्बन्धी समस्या सधैँ पीडा वा असहजताबाट सुरु नहुने भएकाले दृष्टि कमजोर हुँदै जाँदा पनि त्यसलाई सामान्य ठानेर बेवास्ता गर्ने प्रवृत्ति रहेको विशेषज्ञहरू बताउँछन् ।
यसकारण विद्यालय, कार्यस्थल तथा समुदायमा नियमित आँखा परीक्षण र जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
बालबालिकाको दृष्टिका लागि अभिभावक र विद्यालय सचेत हुनुपर्ने, ज्येष्ठ नागरिक तथा मधुमेहजस्ता जोखिम भएका व्यक्तिले नियमित परीक्षणलाई प्राथमिकता दिनुपर्ने र दृष्टिमा सामान्य परिवर्तन देखिए पनि समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।
विश्व दृष्टि दिवसले नेपालमा अन्धोपन न्यूनीकरणमा हासिल भएको उपलब्धिको समीक्षा गर्दै आगामी प्राथमिकता निर्धारण गर्ने अवसरसमेत दिएको छ । गरिबी, भौगोलिक विकटता, जनचेतनाको कमी वा सेवाको अभावका कारण उपचार गर्न सकिने दृष्टि गुमाउन नपरोस् भन्ने दिशामा अबको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
दृष्टि जोगाउनु स्वास्थ्यको विषय मात्र नभई शिक्षा, रोजगारी, उत्पादकत्व, आत्मनिर्भरता र जीवनका अवसर जोगाउने विषय भएकाले आँखाको हेरचाहलाई समस्या आएपछि मात्र गरिने अभ्यासबाट नियमित परीक्षण र रोकथामतर्फ लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।


विश्व खबर 



















