images
images
  • कांग्रेस महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधि सहभागी हुँदै

    काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक भएको छ ।

    केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार दाबी–विरोधलगायत प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । अन्तिम नामावलीअनुसार महाधिवेशनको निर्वाचन प्रक्रियामा ७ हजार ११४ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    निर्वाचन समितिले मतदाता नामावलीमाथि दाबी–विरोध, त्यसउपर जाँचबुझ र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरेको जनाएको छ। त्यसपछि उम्मेदवार मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ ।

    निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । कांग्रेसले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्नेछ ।

    यसैबीच, कांग्रेसको सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ ।

    महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन

    कांग्रेसको १५औँ महाधिवेशन व्यवस्थापनका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

    केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिको सहजता तथा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको हो । बन्दसत्र हुने स्थल तथा निर्वाचनस्थलमा स्वयंसेवक खटाइएको उनले जानकारी दिएका छन् ।

    महाधिवेशनमा देश तथा विदेशबाट आएका हजारौँ प्रतिनिधि सहभागी छन् । कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको थियो भने निर्वाचनका लागि अन्तिम मतदाता संख्या ७ हजार ११४ कायम भएको हो ।

    महाधिवेशनको बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन पेस गरेका छन् । अब निर्वाचन प्रक्रियामार्फत कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ ।

    केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images