images
images
  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन : तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य

    काठमाडौं – राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । परियोजनास्थलमा अहिले ‘ल्याण्ड फिलिङ’ तथा बाहिरी पर्खाल निर्माण भइरहेको छ ।

    परियोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको छ। करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण गर्ने योजना छ ।

    ६२ किलोमिटर पाइपलाइन

    अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्च व्यासको पाइपलाइन निर्माण हुनेछ । भारतको मोतिहारी डिपोस्थित पम्प हाउसबाटै लोथरसम्म पेट्रोलियम पदार्थ पठाउने व्यवस्था मिलाइनेछ ।

    पाइपलाइन पूर्वपश्चिम राजमार्गको समानान्तर क्षेत्रमा बिछ्याइनेछ । हेटौँडा बजारमा भने पाइपलाइन नलैजाने गरी डिजाइन गरिएको छ । रातोमाटे क्षेत्रबाट नदीको बीच हुँदै जाने पाइपलाइन हेटौँडा बजार पार गरेपछि राप्ती पुलनजिकै निस्कनेछ ।

    निर्देशक यादवले निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्नेगरी काम भइरहेको र अबको तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

    पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन लोथरसम्म आपूर्ति गर्न सकिनेछ । नियमित रूपमा पाइपलाइनमा करिब ३ हजार २०० किलोलिटर इन्धन रहने निगमले जनाएको छ ।

    ९१ हजार ९०० किलोलिटर भण्डारण क्षमता

    लोथरमा निर्माण हुने नयाँ डिपोमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण गरिनेछन् ।

    पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीन, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई तथा हवाई इन्धनका लागि ३ हजार ६०० किलोलिटर क्षमताका तीन ट्याङ्की निर्माण हुनेछन्। डिपोको कुल भण्डारण क्षमता ९१ हजार ९०० किलोलिटर हुनेछ।

    त्यसैगरी दुई वटा ट्रान्समिक्स ट्याङ्की पनि निर्माण गरिने निगमले जनाएको छ ।

    ७९ करोडमा जग्गा व्यवस्थापन

    परियोजना निर्माणस्थलमा जमिन सम्याउने, माटो भर्ने र बाहिरी पर्खाल लगाउने काम मोतीदान कन्स्ट्रक्सनले गरिरहेको छ। उक्त कामका लागि करिब ७९ करोड रुपैयाँको ठेक्का सम्झौता भएको हो ।

    निगमका उपप्रबन्धक ऋषिराम शर्माका अनुसार हाल जग्गा सम्याउने र परियोजना निर्माणका लागि आवश्यक पूर्वतयारी भइरहेको छ। जग्गा तयार भएपछि भण्डारणलगायत संरचना निर्माणको जिम्मेवारी भारतीय आयल कर्पोरेसन ९आइओसी०लाई दिइनेछ ।

    ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीका अनुसार गत भदौदेखि काम सुरु भएको हो। एक वर्षको ठेक्का अवधि भए पनि आठ–नौ महिनामै काम सम्पन्न गर्नेगरी निर्माण तीव्र पारिएको छ ।

    हवाई इन्धन पनि पाइपलाइनबाट

    लोथरमा हवाई इन्धनका लागि ट्याङ्की निर्माण भएपछि भारतबाट हवाई इन्धन पनि पाइपलाइनमार्फतै ल्याउन सकिनेछ । अहिले नेपाल आयल निगमले भारतको बरौनीबाट ट्याङ्करमार्फत हवाई इन्धन ढुवानी गर्दै आएको छ ।

    निगमका अनुसार हाल करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याउनुपर्ने अवस्था छ । लोथरसम्म पाइपलाइनबाट आपूर्ति सुरु भएपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुने अनुमान छ । यसबाट वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च जोगिने निगमको दाबी छ ।

    पाइपलाइनबाट इन्धन ढुवानी गर्दा ढुवानीजन्य जोखिम तथा वातावरणीय प्रभाव घट्नुका साथै चोरी र मिसावटको सम्भावना समेत न्यून हुने अपेक्षा गरिएको छ ।

    लागत १४ अर्बभन्दा बढी

    पाइपलाइन तथा भण्डारण गृहसहित परियोजनाको अनुमानित लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । भारतको इन्डियन आयल कर्पोरेसनले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ ।

    नेपाल र भारतबीच तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २०८० जेठमा भएको भारत भ्रमणका क्रममा अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा लोथरमा भण्डारण गृहसहितको डिपो निर्माण गर्ने समझदारी भएको थियो । त्यसअनुसार २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको थियो ।

    सम्झौताअनुसार निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    अमलेखगन्जपछि लोथर दोस्रो ठूलो आधार

    भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ दशमलव दुई किलोमिटर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ देखि सञ्चालनमा छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त परियोजनाबाट सुरुमा डिजेल आयात हुँदै आएकोमा अहिले पेट्रोल र मट्टितेलसमेत पाइपलाइनमार्फत आयात भइरहेको छ ।

    अमलेखगन्ज–लोथर परियोजना सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थको भण्डारण तथा वितरण प्रणाली थप विस्तार हुनेछ । निगमले यसबाट विशेषगरी पश्चिमी तथा उत्तरी क्षेत्रमा इन्धन आपूर्ति सहज हुने अपेक्षा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images