काठमाडौं – मनसुन सकिएसँगै मौसममा परिवर्तन आउँदा भाइरल फ्लु, रुघाखोकी, घाँटी दुख्ने तथा ज्वरो आउने समस्या बढ्न सक्छ । गर्मीबाट क्रमशः चिसो मौसमतर्फ जाने क्रममा बिहान–बेलुका चिसो बढ्नु र वातावरणीय आर्द्रतामा परिवर्तन आउनुले मौसमी संक्रमणको जोखिम बढाउने गर्छ ।
मौसम परिवर्तनसँगै शरीरले नयाँ तापक्रममा तत्काल अनुकूलन गर्न नसक्दा संक्रमणप्रति संवेदनशीलता बढ्न सक्छ। विशेषगरी इन्फ्लुएन्जा तथा अन्य श्वासप्रश्वाससम्बन्धी भाइरस संक्रमित व्यक्तिको खोक्दा, हाछ्युँ गर्दा वा नजिकको सम्पर्कबाट सर्न सक्छन् ।
के–के हुन् मुख्य लक्षण ?
भाइरल फ्लु हुँदा अचानक मध्यमदेखि उच्च ज्वरो आउनु, घाँटी खसखस हुनु वा दुख्नु, थुक निल्न गाह्रो हुनु, रुघाखोकी तथा हाछ्युँ आउनु, नाकबाट पानी बग्नु वा नाक टालिनुजस्ता लक्षण देखिन सक्छन् ।
त्यस्तै, सुक्खा वा कफसहितको खोकी, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, जोर्नीमा पीडा हुने, अत्यधिक थकान र कमजोरी महसुस हुने पनि फ्लुका सामान्य लक्षण हुन् ।
सरसफाइमा विशेष ध्यान
फ्लुबाट बच्न नियमित रूपमा साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म हात धुनु महत्वपूर्ण हुन्छ । विशेषगरी बाहिरबाट घर फर्किएपछि, खाना खानुअघि तथा नाक वा मुख छोएपछि हात सफा गर्नुपर्छ ।
दूषित हातबाट भाइरस शरीरमा प्रवेश गर्न सक्ने भएकाले अनावश्यक रूपमा नाक, मुख र आँखा छुनबाट पनि बच्नुपर्छ । भीडभाड तथा सार्वजनिक यातायातमा जाँदा र आफूलाई रुघाखोकी लागेको अवस्थामा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।
खोक्दा वा हाछ्युँ गर्दा कुहिनो वा टिस्युले नाक–मुख छोप्ने र प्रयोग गरिएको टिस्यु सुरक्षित रूपमा फाल्ने बानीले संक्रमण फैलिनबाट रोक्न मद्दत गर्छ ।
खानपान र आराममा ध्यान
मौसम परिवर्तनको समयमा पर्याप्त मात्रामा पानी तथा झोल पदार्थ सेवन गर्नुपर्छ । सुप, गेडागुडीको झोल तथा अन्य पोषिलो पदार्थ खान सकिन्छ ।
कागती, सुन्तला, मौसमी र अमलाजस्ता फलफूललाई सन्तुलित आहारको हिस्सा बनाउन सकिन्छ । ताजा, सफा र पोषिलो खाना खानुका साथै खुला वा लामो समयदेखि राखिएका खानेकुरा सेवन नगर्नु राम्रो हुन्छ ।
पर्याप्त निद्रा र नियमित हल्का व्यायामले पनि शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ। वयस्कले सामान्यतः दैनिक ७–८ घण्टा पर्याप्त निद्रा लिनु उपयुक्त मानिन्छ ।
बिहान–बेलुका न्यानो कपडा
मौसम परिवर्तनसँगै बिहान र बेलुका चिसो बढ्ने भएकाले मौसमअनुकूल न्यानो कपडा लगाउनुपर्छ। विशेषगरी बिहान सबेरै र राति चिसो हावाबाट जोगिनु आवश्यक हुन्छ ।
घर तथा कार्यालयका कोठामा सफा हावा र घामको प्रवेश हुने गरी उचित हावाको आवतजावत कायम राख्नु पनि उपयोगी हुन्छ ।
जोखिम समूहले थप सावधानी अपनाउनुपर्ने
वृद्धवृद्धा, साना बालबालिका, गर्भवती महिला तथा दीर्घरोग भएका व्यक्तिमा फ्लुको संक्रमणले जटिलता निम्त्याउन सक्ने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्छ । चिकित्सकको सल्लाहअनुसार मौसमी इन्फ्लुएन्जाविरुद्धको खोप लगाउन सकिन्छ ।
रुघाखोकी वा फ्लु भएका व्यक्तिबाट सम्भव भएसम्म सुरक्षित दूरी कायम राख्नु र संक्रमित अवस्थामा अरूसँगको नजिकको सम्पर्क कम गर्नु पनि संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण हुन्छ ।
गम्भीर लक्षण देखिए चिकित्सकको परामर्श
सामान्य रुघाखोकी वा फ्लुका लक्षण देखिँदा पर्याप्त आराम र आवश्यक सावधानी अपनाउन सकिन्छ । तर अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा लगातार खोकी लागिरहनेजस्ता गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था वा चिकित्सकसँग परामर्श लिनुपर्छ ।
यस्तो अवस्थामा चिकित्सकीय सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधि सेवन गर्नु उचित हुँदैन ।


विश्व खबर 



















