images
images
  • चिकित्सा क्षेत्रका यी क्रान्ति- जसले बनाए मानव जीवन सहज

    काठमाडौं– पछिल्ला केही शताब्दी मानव सभ्यता नै महामारीबाट प्रताडित बन्यो। यसको पछिल्लो उदाहरण सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारी हो।

    यसरी समय समयमा देखिने महामारीमध्ये सबैभन्दा डरलाग्दो महामारी १६औं शताब्दीमा सुरु भएर १८औं शताब्दीमा अन्त्य भएको बिफरको महामारी पनि एक हो। यस महामारीले लाखौँको ज्यान लियो। तर सकारात्मक पक्ष के हो भने यसै महामारी निराकरणका लागि भ्याक्सिनको आविष्कार भयो।

    सन् १७९६ मा बिफरविरुद्ध भ्याक्सिन लगायन सुरु भए पनि यसको विकास हुँदै अहिले पोलियो, दादुरालगायत यावत रोगका लागि भ्याक्सिनको प्रयोग उपयुक्त बनेको छ।

    साथै पछिल्लो समयमा आएको कोरोना महामारीबाट समेत हामी केही वर्षमा नै बाहिर आउन सफल भयौं। हामीले यहाँ चिकित्सा क्षेत्रमा भएका केही यस्ता परिवर्तनको चर्चा गरेका छौं, जसले मानव जीवनलाई धेरै नै सहज बनायो।

    पहिलो भ्याक्सिनको विकास

    First Vaccine in World

    सन् १७९६ मेडिकल साइन्सको विद्यार्थी एडवार्ड जेनर बेलायतको कृषि फर्ममा पुगेका थिए। त्यस समय मानिसहरू बिफरको सिकार भएका थिए। गाईमा समेत काउपक्सको प्रकोप थियो। उनले त्यसै स्थानबाट काउपक्स भएको गाईको दूधसहितको केही मात्रा झिकेर परीक्षणको रूपमा बिफर भएको बालकको छालामा लगाइदिए। त्यसले त्यस बालकको बिफर निको गराइदियो।

    त्यसलगत्तै नयाँ परीक्षण भयो। सोही वर्षको जुलाईमा उनले मानिसको जिउमा यसको प्रयोग गरे। उनको यो प्रयोग पनि सफल भयो। यसैबाट भ्याक्सिनको विकास भयो। यो नै मेडिकल साइन्समा पहिलो ठुलो क्रान्ति थियो।

    यसपछि १९औं र २०औं शताब्दीमा जेनरको यो शैली संसारका धेरै वैज्ञानिकले प्रयोग गरे। अनगिन्ती रोगको निराकरण र रोग लाग्न नदिन नै भ्याक्सिन प्रयोग गर्ने प्रचलन सुरु पनि भयो। अहिले पोलियो, दादुरा, टिटानस, हेपाटाइटिस बीलगायत अनेक घातक रोगको भ्याक्सिन विकास भइसकेका छन् ।

    सन् २०२० भने एमआरएनए भ्याक्सिनका लागि महत्त्वपूर्ण वर्ष मानिन्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् १९७० मै बिफर महामारी अन्त्यको घोषणा गरेको थियो । संसारमा व्यापक भ्याक्सिनेसन सुरु भएपछि बिफर मुक्त भएको घोषणा गरिएको थियो।

    रगत ट्रान्समिसन

    blood Transmition

    एउटा मानिसको रगत अर्को मानिसमा उपयोग हुन्छ भन्ने कुरा पत्ता लगाएर रगत ट्रान्समिसन गर्ने प्रचलनको श्रेय कार्ल लेन्डस्टेइनर र विलियम हार्भेलगायतलाई जान्छ। पहिलो पटक सन् १६२८ मा विलियम हार्भेले मानिसमा रक्त सञ्चारको विषय पत्ता लगाएका थिए।

    सन् १६६५ मा भने इङल्यान्डमा रिचर्ड लोअरले एउटा कुकुरको शरीरमा अर्को कुकुरको रगत राखेर परीक्षण गरेका थिए। कुकुर बाँचेपछि मानिसको रगत ट्रान्समिसनको नयाँ बाटो खुलेको थियो। सन् १८१८ मा अत्यधिक रक्तस्राब भएका महिलाको उपचार गर्न रगत लिने–दिने कामको प्रयोग भएको थियो। यो नयाँ प्रयोग थियो, जुन मेडिकल साइन्सको संसारमा थप नयाँ क्रान्तिको रुपमा समेत दर्ज हुन पुग्यो।

    सन् १८४० मा हाइमोफिलिया भएकाहरूमा अन्य व्यक्तिको रगत परीक्षण भएको थियो। यो मानव सभ्यतामा अर्को क्रान्ति थियो। सन् १९०० मा कार्लले ए, बी र ओ रक्त समूह पत्ता लगाए। सन् १९०७ मा समूह ओ सबैमा मिल्न सक्ने तथा समूह मिलेमा रगत ट्रान्समिसन सुरक्षित रहने कुरा पत्ता लागेको थियो।

    सन् १९७४ मा एडल्फ हस्टिनले सोडियम साइक्राइट पत्ता लगाए। यसले नै रगत ट्रान्समिसनमा रियाक्सनको जोखिम हुन सक्ने भन्दै केही समय राखेर पछि दिने प्रचलनको प्रथा बसाले।

    सन् १९३२ मा लेनिनग्राड अस्पतालमा पहिलो पटक ब्लड बैंकको स्थापना गरिएको थियो। सन् १९३९ र ४० मा आरएच समूह पत्ता लगाइयो र ट्रान्समिसनमा आउने समस्याको निराकरण पनि गरियो।

    सन् १९६१ मा रक्त क्यान्सरको उपचारका लागि प्लेटलेट कोषहरूको पत्ता लगाइयो। यसपछि विभिन्न कालखण्डमा विभिन्न भाइरस र यसको उपचार पद्धतिको विकास भएको हो।

    पेन्सिलिनको आविष्कार

    Pencillinn

    सन् १९२८ को सेप्टेम्बर मेडिकल साइन्समा एउटा महत्त्वपूर्ण क्रान्तिको महिना बन्यो। अलेक्जेन्डर फ्लेमिङले पेन्सिलिनको विकास गरेर मानवलाई पीडाबाट मुक्त गराएका थिए। यसैलाई पहिलो साँचो एन्टिबायोटिकको रूपमा लिइन्छ । सेन्ट मेरिज अस्पतालमा कार्यरत उनी बिदाको समयमा घर आएका थिए। त्यस समयमा पनि स्कटल्यान्डमा रहेको मेसी ल्याबमा बसेर उनले अध्ययन गरेका थिए।

    पेनिसिलियम मोडबाट बनाइएको पेन्सिलिनले संसारलाई अचम्ममा नै पारेको छ। सोही मोडबाट बनेको यो पेन्सिलिनले संसारलाई पीडाबाट मुक्त गराएको तथा रोगका कीटाणु पार्ने गरेको कुरा उनले घोषणा गरेपछि यसले संसारभरिमै नयाँ खुसी दिएको थियो।

    यसको सफल प्रयोग भने १४ वर्षपछि भएको हो। सन् १९४२ मा अमेरिकाको केनक्टिकस्थित न्यू हेभेन अस्पतालमा उपचार गराएका एने मिलर पेन्सिलिनको प्रयोग गर्दै मृत्युको मुखबाट निस्केका थिए। यसअघि फ्लेमिङले पत्ता लगाएको पेन्सिलिन प्रयोगको अवस्थासम्म आउँदा डा.हार्वर्ड फ्लोरीले थप महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    यसबीचमै सन् १९४१ मा दोस्रो विश्व युद्धमा अमेरिकाको उपस्थिति भइसकेको थियो। फ्लोरीले अर्को बायो केमिस्ट डा.नोर्मान हेट्ली र अमेरिकी वैज्ञानिक पियोरियासँग मिलेर ठुलो मात्रामा यसको उत्पादनमा आफूलाई सक्रिय राखेका थिए।

    नभन्दै उनीहरूको खोजले ठुलो काम गरेको थियो। पहिलो विश्व युद्धको क्रममा ब्याक्टेरियल सङ्क्रमणका कारण मर्नेको संख्या १८ प्रतिशत थियो। दोस्रो विश्व युद्धमा यसै कारण मर्नेको संख्या १ प्रतिशतमा झरेको थियो। यसको विकासमा अर्का वैज्ञानिक चेनको समेत भूमिका थियो।

    सन् १९४५ मा यस महान उपलब्धिका कारण फ्लेमिङ, फ्लोरी र चेनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो। हेट्लीलाई भने छुट्टयाइएको थियो। सन् १९९० मा अक्सफोर्ड विश्वविद्यालयले उनलाई चिकित्साशास्त्रमा मानार्थ डक्टरेटको उपाधि दिएको थियो। अक्सफोर्डले ८०० वर्ष पुरानो इतिहासमा पहिलो पटक हेट्लीका लागि यो कदम उठाएको थियो।

    हामी सन् १९२८ मा फ्लेमिङले दिलाएको यो उपलब्धिको आज एक शताब्दीको नजिक आइपुगेका छौं। मेडिकल साइन्सले धेरै उपलब्धि दिलाएको छ। परन्तु कुनै दिन फ्लेमिङले चालेको कदम र यसपछि अन्यले दिएको साथका कारण प्राप्त उपलब्धि आज हामी धेरैको जीवनको अपरिहार्य बनेको छ। फ्लेमिङले नोबेल पुरस्कार ग्रहण गर्दै भनेको कुरा भने मननयोग्य छ ।

    उनले भनेका थिए, ‘एन्टिबायोटिकले धेरैको जीवन त बचायो । तथापि यसको अत्यधिक प्रयोगले ब्याक्टेरियाको पनि बाँच्ने क्षमताको विकास हुन्छ । जुन हाम्रा लागि घातक हुनसक्छ।’

    जर्म थेरापी र एन्टिसेप्टिक

    Antiseptic Operation

    कुनै समय विषाक्त हावा र गन्धका कारण मात्र रोगको विकास हुन्छ भन्ने मान्यता थियो। यो मान्यताअनुसार हात धुने र सफा हुने गरेमा रोग लाग्दैन भन्ने थियो। यो मान्यता धेरै हदसम्म सही थियो । तर पूर्ण भने थिएन। यसबाट पार पाउँदै लामो बहसपश्चात् जर्म थ्यौरीको विकास भएको छ।

    यस विकासक्रममा लुई पाश्चर, जोसेफ लिस्टर, रोबर्ट कोच र कार्ल फ्लगको ठुलो योगदान थियो। सन् १८६५ मा फ्रान्समा सिल्क ओम क्राइसिस आएको थियो।

    रेसम कीराबाट अर्को कुनै रोग निस्केपछि महामारी फैलिएको कुरा लुई पाश्चरले पत्ता लगाए। यसपछि नै उनले माइक्रो अर्गानिजमका कारण रोग उत्पन्न हुन्छ भन्ने पत्ता लगाए।

    यसपछि पाश्चर र जोसेफ लिस्टर मिलेर कार्बोलिक एसिडलाई उपचारमा प्रयोग गरे। खासमा घाउ सफा गर्न प्रयोग गरिने यो एसिड सेनिटरी प्रयोग पनि हुन्छ। रोबर्ट कचले माइक्रो अर्गानिजमबाट रोगको विकास हुने चार चरणको अध्ययन गरे। मेडिकल साइन्समा यो अर्को फड्को थियो।

    जर्मनीको युनिभर्सिटी अफ गोटिनगेनमा रहेका कार्ल फ्लगले ‘जर्नल अफ हाइजिन एन्ड इन्फेक्सियस डिजिज’ मा ब्याक्टेरिया र स्वास्थ्यबारे सबै विषय उल्लेख गरे। सन् १८९९ मा फ्लगले क्षयरोगको बारे अन्वेषण गर्ने क्रममा ‘ड्रोप्लेट थ्यौरी अफ इन्फेक्सन’ पत्ता लगाए। यो एउटा नयाँ अध्यायको उद्भव थियो।

    चिकित्साशास्त्रले लामो फड्को मारिसकेको छ। यहाँ केही यस्ता चिकित्सा क्रान्तिको विषय उठान गरिएको हो, जसले मानव जीवनलाई नै कायापलट गरिदिएको छ ।

    यो विकासक्रमभन्दा अघिको समय साँच्चै कहालीलाग्दो नै थियो होला! मानव सभ्यता त्यो समय पार गर्दै आज नयाँ युगमा छ। यो युगसम्मको ऐतिहासिक कालखण्डमा अलेक्जेन्डर फ्लेमिङ, लुई पाश्चर र एडवार्ड जेनरलगायत धेरै नामलाई इतिहासले सदा सम्झने नै छ।

    तस्विर : एआई

    स्रोतः हिस्ट्री डटकम, पीबीएस डट ओआरजी, क्यानेडियन म्युजियम अफ हेल्थ केयरलगायत

    प्रतिक्रिया दिनुहोस्
    images
    images