images
images
  • बाढीपहिरोले क्षतविक्षत बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र

    काठमाडौं – पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मत तीव्र पारिएको छ ।

    पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछिको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध भएको थियो । तीमध्ये करिब १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरी बगाएको छ ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडक आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भइरहेको छ ।

    “वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ्ग–तातोपानीसम्मको सडक दुई दिनमै मर्मत गरेका थियौँ,” शर्माले भने, “मालढुङ्गातर्फबाट बेनी, बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकको मर्मत पनि सोमबार साँझसम्म सकिएको छ ।”

    कुनौटामा २५० मिटर सडक कटान

    रघुगङ्गा गाउँपालिका–२ कुनौटामा कालीगण्डकीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ । सडक बगाएपछि पैदल आवतजावतसमेत कठिन बनेको उक्त क्षेत्र मर्मतका लागि चुनौतीपूर्ण मानिएको छ ।

    रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा समेत सडक कटान भएको थियो। त्यहाँ वैकल्पिक मार्ग निर्माण गरी सडक सञ्चालनमा ल्याइएको आयोजनाले जनाएको छ ।

    सडक मर्मतका लागि आवश्यक इन्धन ढुवानीसमेत चुनौती बनेपछि नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोग लिइएको छ । सडक योजनाका प्रमुख शर्माका अनुसार कुनौटाभन्दा माथिल्लो क्षेत्रमा मानिसले बोकेर इन्धन लैजान सम्भव नभएपछि सेनाको टोली र ड्रोनको प्रयोग गरिएको हो ।

    “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराएपछि कुनौटाभन्दा माथि सडक मर्मत गर्न सहज भएको छ,” उनले भने।

    पोखरेबगर र रातोपानीमा नयाँ ट्रयाक

    अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, रातोपानी, महभिर र भिरकाटे क्षेत्रमा पनि सडक मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। अन्नपूर्ण–६ रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएको क्षेत्रमा नयाँ ट्रयाक खोलिएको छ ।

    पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ। सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहितको जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उहाँले भन्नुभयो, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।”

    कोरला नाका सञ्चालनमा ल्याउन प्राथमिकता

    रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । त्यसैले कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको सुवेदीले बताउनुभयो ।

    मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिएको छ । पर्यटकीय याम सुरु भएसँगै बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने दबाबसमेत बढेको छ ।

    सडक मर्मत सम्पन्न भएपछि म्याग्दी र मुस्ताङबीचको आवागमन सहज हुनुका साथै कोरला नाकामार्फत हुने व्यापार, कृषि उपजको ढुवानी र पर्यटन गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images