काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै राति देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको थोरै स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।


विश्व खबर 



















