काठमाडौं – मस्तिष्कका स्नायु कोष तथा तिनका सञ्जाललाई प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याएका तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कारका लागि ५४ वर्षीय कार्ल डाइसेरोथ, ७१ वर्षीय पिटर हेगेमान र ७३ वर्षीय जर्ज नागेल छनोट भएका हुन्। उनीहरूले ‘लाइट–गेटेड आयन च्यानल’ तथा ‘अप्टोजेनेटिक्स’ को क्षेत्रमा गरेको अनुसन्धानका लागि यो सम्मान पाउने भएका हुन् ।
चिकित्सा विज्ञान समितिका सचिव थोमस पर्लमानका अनुसार सोमबार तीनै जना वैज्ञानिकसँग फोनमार्फत सम्पर्क गर्न सफल भएको जानकारी दिए ।
स्नायु विज्ञानमा नयाँ युग
अप्टोजेनेटिक्सले स्नायु विज्ञानमा नयाँ अनुसन्धानको बाटो खोलेको वैज्ञानिकहरूको भनाइ छ । यस प्रविधिमार्फत प्रकाशको प्रयोग गरेर मस्तिष्कका निश्चित स्नायु कोषलाई सक्रिय वा निष्क्रिय पार्न सकिन्छ ।
यसले मस्तिष्कले कसरी काम गर्छ भन्ने बुझ्न तथा व्यवहार र विभिन्न रोगसँग सम्बन्धित जैविक प्रक्रिया र स्नायु मार्गको अध्ययन गर्न वैज्ञानिकहरूलाई महत्वपूर्ण आधार दिएको छ ।
हरियो लेउबाट सुरु भएको अनुसन्धान
यस अनुसन्धानको महत्वपूर्ण आधार पिटर हेगेमानको एक–कोषीय हरियो लेउसम्बन्धी अध्ययनबाट विकसित भएको थियो । उनले उक्त सूक्ष्म जीव प्रकाशतर्फ कसरी पौडिन्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए ।
हेगेमान र जर्ज नागेलले विशेष प्रकारको प्रोटिन पहिचान गरेका थिए, जसमा नीलो प्रकाश पर्दा च्यानल खुल्ने र त्यसबाट विद्युतीय सङ्केत उत्पन्न हुने गर्छ । उक्त प्रोटिन अन्य कोषमा प्रयोग गर्दा ती कोषलाई समेत प्रकाशप्रति संवेदनशील बनाउन सकिने देखिएको थियो ।
त्यसपछि कार्ल डाइसेरोथले सो प्रोटिनलाई नियन्त्रण गर्ने जिनमा थप काम गर्दै जीवित मुसाको मस्तिष्कमा रहेका स्नायु कोषलाई प्रकाशमार्फत नियन्त्रण गर्न सकिने ‘स्विच’ विकास गरेका थिए ।
अनुसन्धानमा महत्वपूर्ण उपकरण
वैज्ञानिकहरूले विकास गरेको यो प्रविधि मस्तिष्कका निश्चित स्नायु कोषको गतिविधि नियन्त्रण र त्यसको प्रभाव अध्ययन गर्न उपयोगी बनेको छ । यसले स्नायु प्रणाली, व्यवहार तथा विभिन्न न्युरोलोजिकल रोगको जैविक आधार बुझ्न अनुसन्धानकर्तालाई नयाँ उपकरण उपलब्ध गराएको छ ।
सुरु भयो नोबेल सप्ताह
स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटमा चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा भएसँगै यस वर्षको नोबेल सप्ताह सुरु भएको छ ।
यस वर्षको नोबेल पुरस्कार राशि १ करोड २० लाख स्विडिस क्रोनर रहेको छ । पुरस्कार एक जना, समूह वा संस्थालाई प्रदान गरिए पनि निर्धारित राशि समान रहने व्यवस्था छ ।
चिकित्साशास्त्रपछि मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । शुक्रबार शान्तितर्फको पुरस्कार घोषणा गरिनेछ भने अक्टोबर १२ मा अर्थशास्त्रतर्फको नोबेल मेमोरियल पुरस्कार घोषणा गर्ने कार्यक्रम छ ।


विश्व खबर 



















