काठमाडौं – सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील तथा गोप्य सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीरााज दाहाल निलम्बित भएका छन् ।
गृह मन्त्रालयले पदीय आचरणविपरीत कार्य गरेको आरोपमा दाहाललाई निलम्बन गर्दै घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण र कानुनबमोजिमको जिम्मेवारी पूरा नगरेको देखिएकाले दाहाललाई निलम्बन गरिएको उल्लेख छ ।
दाहालले राष्ट्रिय सुरक्षा तथा संगठनसँग सम्बन्धित संवेदनशील गोप्य सूचना बाहिर पठाएको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले निलम्बनसँगै घटनाको विस्तृत जाँचबुझ अघि बढाएको हो ।
तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गृह मन्त्रालयमा सोमबार बसेको बैठकले घटनाको सूक्ष्म छानबिन गर्न जाँचबुझ अधिकृत तोक्ने निर्णय गरेको छ । तोकिएका अधिकृतलाई तीन दिनभित्र छानबिन पूरा गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
मन्त्रालयले दाहालमाथि लागेको आरोपको प्रकृति, संवेदनशील सूचना बाहिरिएको विषय तथा त्यसमा उनको संलग्नताबारे छानबिनपछि आवश्यक निर्णय लिने जनाएको छ ।
गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय तथा निजामती कर्मचारीबाट हुन सक्ने पदीय आचरणविपरीतका गतिविधि, सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ ।
प्रवक्ता काफ्लेले कानुनविपरीत हुने गतिविधि वा घटनामा संलग्न जोसुकैलाई पनि बिना छुट प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएका छन् ।



विश्व खबर 




















