images
images
  • बर्दिया अस्पतालमा भवन छ, आईसीयू छैन; जटिल बिरामीको गन्तव्य नेपालगन्ज

    काठमाडौं – बर्दिया अस्पतालमा दैनिक करिब २५० जना बिरामी उपचारका लागि पुग्छन् । अस्पतालमा ५० शय्या छन्, भौतिक पूर्वाधार पनि छ । तर जब कुनै बिरामीको अवस्था गम्भीर हुन्छ, यही अस्पतालले उपचार गर्न सक्दैन । आवश्यक विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र सघन उपचारकक्ष (आईसीयूं) अभावमा जटिल बिरामीलाई नेपालगन्ज वा कोहलपुरका अस्पतालमा पठाउनुपर्ने अवस्था छ ।

    मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबालाई गत भदौ १७ गते रक्तचाप कम भएपछि बर्दिया अस्पताल ल्याइयो। शरीरमा अक्सिजनको मात्रा कम भएकाले उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भयो। तर अस्पतालमा आईसीयू थिएन। चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरे ।

    राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरीको अवस्था पनि उस्तै भयो। गत असारमा मिर्गौलासम्बन्धी समस्या लिएर बर्दिया अस्पताल पुगेका उनलाई आवश्यक उपचार उपलब्ध हुन नसकेपछि नेपालगन्ज पठाइयो ।

    यी दुई घटना बर्दिया अस्पतालमा जटिल बिरामीले भोगिरहेको समस्याका उदाहरण मात्र हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुवास पाण्डेका अनुसार गम्भीर अवस्थाका बिरामी अस्पतालमा आउने गरे पनि उपचारका लागि आवश्यक जनशक्ति र आईसीयू नहुँदा रेफर गर्नुको विकल्प छैन ।

    “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन्। दरबन्दीअनुसारका चिकित्सक र आईसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ,” उनले भने ।

    अस्पतालमा आईसीयू सञ्चालन नहुनुको मुख्य कारण पूर्वाधारभन्दा पनि जनशक्तिको अभाव रहेको पाण्डे बताउँछन्। आईसीयू सञ्चालनका लागि एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट आवश्यक छ। त्यसबाहेक चार मेडिकल अधिकृत, आठ नर्स र चार कार्यालय सहयोगी चाहिन्छ ।

    तर अस्पतालमा अधिकांश दरबन्दी नै रिक्त छन् । परिणामस्वरूप, जिल्लामै उपचार पाउनुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था छ ।

    स्थानीय समाजसेवी सोमाई थारूका अनुसार समस्या अस्पतालबाट रेफर गर्नेमा मात्र सीमित छैन। गम्भीर बिरामीलाई नेपालगन्ज लैजाँदा बाटोमै अवस्था बिग्रिने र कतिपयको ज्यानसमेत जाने गरेको उनको दाबी छ ।

    “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ,” उनले भने ।

    बर्दिया क्षेत्र नं. १ का सांसद ठाकुरसिंह थारूले पनि अस्पतालको यही समस्यालाई लिएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनले गत भदौ ९ गते निवेदन दर्ता गर्दै बर्दिया अस्पतालमा आईसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका थिए ।

    बर्दिया अस्पतालको समस्या भने नयाँ होइन। अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ, तर त्यसअनुसार विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी थपिएका छैनन् । अस्पतालसँग भौतिक संरचना भए पनि त्यसलाई प्रभावकारी स्वास्थ्य सेवामा बदल्न आवश्यक जनशक्ति र उपकरण छैनन् ।

    जिल्लाका बिरामीका लागि स्थापना गरिएको अस्पताल आफैँ भने जटिल बिरामीको उपचारमा परनिर्भर बनेको छ। सामान्य उपचारका लागि दैनिक सयौँ बिरामी धाउने अस्पतालले जीवनरक्षासँग जोडिएका सेवा दिन नसक्दा गम्भीर अवस्थाका बिरामीको पहिलो गन्तव्य अस्पताल नभई नेपालगन्ज बन्ने गरेको छ ।

    बर्दिया अस्पतालमा आईसीयू सञ्चालन र विशेषज्ञ जनशक्तिको व्यवस्था हुन नसक्दा जिल्लाको स्वास्थ्य सेवामा रहेको एउटा ठूलो विरोधाभास देखिन्छ—अस्पताल छ, शय्या छ, बिरामी छन्स तर गम्भीर बिरामी बचाउने आवश्यक जनशक्ति र उपचार सुविधा छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images