काठमाडौं– ब्राजिलको राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण गरिएको छ । ब्राजिलमा आइतबार राष्ट्रपतीय निर्वाचन हुन गइरहेको छ ।
कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच अक्टोबर २५ मा दोस्रो चरण (रनअफ) निर्वाचन हुनेछ । अन्य १० उम्मेदवार चुनावी मैदानमा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान गरिएको छ ।
असी वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनाव लड्दैछन् । लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आएका छन् । ट्रम्प प्रशासनले ब्राजिलको निर्यातमा उच्च भन्सार शुल्क लगाउने, वासिङ्टनस्थित ब्राजिलका राजदूतको भिसा रद्द गर्ने तथा जायर बोल्सोनारोमाथिको अनुसन्धानसँग सम्बन्धित सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि लुलाले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
४५ वर्षीय बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिन्छन् । बोल्सोनारोले दुर्लभ खनिजलगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
उनले सत्तापलटको प्रयाससम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय भोगिरहेका आफ्ना पिता जायर बोल्सोनारोलाई रिहा गराएर राजनीतिमा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् ।
आइतबारको मतदानमा राष्ट्रपतिसँगै २७ राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, सङ्घीय कङ्ग्रेसका सबै ५१३ सदस्य तथा ८१ सदस्यीय सिनेटका ५४ सदस्य पनि निर्वाचित हुनेछन् ।
चार वर्षअघि लुलाले जायर बोल्सोनारोलाई करिब २१ लाख मतको झिनो अन्तरले पराजित गरेका थिए । त्यसयता महँगी, भ्रष्टाचार र राजनीतिक विवादका कारण मतदाताको धारणा फेरिएको विश्लेषण गरिएको छ ।


विश्व खबर 



















