काठमाडौं – मानिसमा सर्ने अधिकांश सङ्क्रामक रोगको स्रोत पशु हुने भएकाले स्वच्छ मासुका लागि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
पशु तथा मत्स्य विकास निर्देशनालय, हेटौँडाका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार मानिसमा लाग्ने सङ्क्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने रोग रहेका छन् । हरेक वर्ष मानिसमा देखिने पाँच नयाँ रोगमध्ये तीन वटा पशुबाट उत्पत्ति हुने गरेको उनले बताए ।
उनका अनुसार नयाँ सङ्क्रामक रोगमध्ये ७५ प्रतिशत पशुबाट हुने गरेका छन् । पशुको मासु र दूधबाट समेत यस्ता रोग मानिसमा सर्न सक्ने भएकाले पशु वध र मासु जाँचलाई अनिवार्य बनाउनुपर्ने उनको भनाइ छ ।
“मानिसमा सर्ने रोग नियन्त्रणका लागि स्वच्छ मासु आवश्यक पर्छ,” उनले भने ।
चितवनमा दैनिक हजारौँ पशुपन्छी वध
चितवनमा दैनिक ठूलो सङ्ख्यामा पशुपन्छी वध हुने गरेको छ । ड.घिमिरेका अनुसार जिल्लामा दैनिक ८० देखि ९० हजार कुखुरा, करिब ३५ वटा भैँसी, चार सयदेखि पाँच सय बाख्रा तथा २५ वटा बङ्गुर वध हुने गरेका छन् ।
यति ठूलो परिमाणमा पशुपन्छी वध हुने भए पनि व्यवस्थित वधशालाको अभाव रहेको उनले बताए । पशुको स्वास्थ्य परीक्षणदेखि वध, मासु जाँच, ढुवानी र भण्डारणसम्मका प्रक्रिया व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
भरतपुरमा चार सयभन्दा बढी वधस्थल
भरतपुर महानगरपालिकाको पशु सेवा शाखाका डा. रविन वस्ताकोटीका अनुसार महानगर क्षेत्रमा चार सयभन्दा बढी वधस्थल रहेका छन् । तर तीमध्ये अधिकांश व्यवस्थित र जनस्वास्थ्यका दृष्टिले उपयुक्त नरहेको उनले बताए ।
वधस्थललाई व्यवस्थित गर्दै स्वच्छ मासुको उपभोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
“अहिलेसम्म हामीले मासु पसलमा सरसफाइको विषयलाई मात्र जोड दिँदै आएका छौँ । अब कानुन कार्यान्वयन गर्दा मासु राख्ने स्थानको तापक्रम, भण्डारण र अन्य मापदण्डलाई समेत ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
नियमावलीले मासु बिक्री गर्दा छालारहित मासु मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।
दसैँअघि नै कानुन कार्यान्वयनको तयारी
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन कार्यान्वयनमा स्थानीय तह सक्रिय हुनुपर्ने बताए ।
दसैँअघि नै ऐन कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन स्थानीय तहलाई आग्रह गरिएको उनले जानकारी दिए । ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गर्दै नागरिकलाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पशुको स्रोत र स्वास्थ्य अवस्था यकिन नगरी वध गर्ने, जथाभावी वध गर्ने, बिरामी वा मरेका पशुपन्छीको मासु बिक्री गर्ने तथा सडेगलेको मासु बिक्री गर्दा मानिसमा रोगको सङ्क्रमण फैलिन सक्छ ।
त्यस्तै, मासुमा मिसावट गर्ने, छाला तथा हड्डीलगायतका उपपदार्थ जथाभावी फाल्ने र चिस्यान कायम नगरी लामो समयसम्म मासु राख्ने गर्दा जनस्वास्थ्यमा जोखिम बढ्ने उनले बताए ।
रोग नियन्त्रणका लागि मासु जाँच अनिवार्य
सरोकारवालाका अनुसार पशुबाट मानिसमा सर्ने रोगको जोखिम न्यूनीकरण गर्न पशुको स्वास्थ्य परीक्षणदेखि मासु उपभोक्तासम्म पुग्ने प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउछन् ।
पशुको स्वास्थ्य परीक्षण, स्वीकृत स्थानमा वध, मासु जाँच, स्वच्छ ढुवानी, उचित तापक्रममा भण्डारण तथा बिक्रीका मापदण्ड पालना गर्न सके मासुबाट सर्न सक्ने रोगको जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ ।
स्थानीय तहले वधस्थल तथा मासु पसलको अनुगमनलाई प्रभावकारी बनाउँदै कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ । आगामी दसैँमा मासुको खपत बढ्ने भएकाले त्यसअघि नै वधस्थल, मासु जाँच र भण्डारणसम्बन्धी व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।


विश्व खबर 




















