काठमाडौं – दक्षिण कोरियामा चुलिएको आर्टिफिसियल इन्टेलिजेन्स र चिप (सेमिकन्डक्टर) शेयरको उछालले त्यहाँको सामाजिक संरचना, वैवाहिक सम्बन्ध, रियालिटी शो र विश्वविद्यालयको अध्ययन रोजाइमा व्यापक फेरबदल ल्याएको छ ।
दक्षिण कोरियाको वैवाहिक बजारमा लामो समयदेखि चिकित्सक, वकिल र न्यायाधीशहरू सर्वाधिक रोजाइमा पर्दै आएका थिए । तर हालैका वर्षहरूमा एआई बूमका कारण भारी बोनस पाउने सेमिकन्डक्टर (चिप) क्षेत्रका प्राविधिकहरू वैवाहिक बजारमा नयाँ रोजाइ बनेका छन् ।
कोरियाली म्याचमेकिङ (जोडी मिलाउने) कम्पनी ‘गायन’ का अनुसार हाल एसके हाइनिक्स र सामसुङ इलेक्ट्रोनिक्स जस्ता सेमिकन्डक्टर कम्पनीका साथै एआईको क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग विवाह गर्न चाहनेहरूको सङ्ख्या उल्लेख्य बढेको छ । चालू वर्ष सामसुङ र एसके हाइनिक्स दुवै कम्पनी ट्रिलियन डलर क्लबमा समावेश भएका छन् भने तिनीहरूको शेयर मूल्य क्रमशः करिब ९५ प्रतिशत र १३५ प्रतिशतले बढेको छ ।
चिप उत्पादन गर्ने यी दिग्गज कम्पनीहरूले आफ्ना कर्मचारीलाई वितरण गर्ने भारी बोनसले उनीहरूलाई विवाह बजारमा थप आकर्षक बनाएको छ । गत वर्ष एसके हाइनिक्सले आफ्नो सञ्चालन मुनाफाको १० प्रतिशत रकम कर्मचारीलाई बाँड्ने सहमति गरेको थियो, जुन प्रतिकर्मचारी औसत ७० करोड वन (करिब ५ लाख अमेरिकी डलरभन्दा बढी) हुन आउँछ । यो रकम कोरियाली नागरिकको औसत वार्षिक तलबभन्दा १५ गुणाभन्दा बढी हो । यस्तै सामसुङको मेमोरी चिप डिभिजनका कर्मचारीहरूले पनि आफ्ना प्रतिस्पर्धीभन्दा केही कम भए पनि ठूलो परिमाणमा बोनस प्राप्त गर्छन् ।
कोरियाली युवाहरूमा विवाहलाई आर्थिक फाइदाको माध्यमका रूपमा हेर्ने प्रवृत्ति बढेको छ, जसलाई स्थानीय मिडियाले ‘वेडिङ लेभरेज’ नामकरण गरेको छ । दुई जनाको आम्दानी जोडेर घर किन्न वा लगानी बढाउन सहज हुने भएकाले युवाहरू आर्थिक रूपमा सबल जोडीको खोजीमा छन् । यद्यपि उच्च आम्दानी हुने सेमिकन्डक्टर क्षेत्रका कर्मचारीहरू स्वयं पनि आफ्नो जीवनसाथी छनोट गर्दा केवल आर्थिक स्थिति मात्र नहेरी अन्य बहुआयामिक पक्षहरूमा ध्यान दिन थालेका छन् ।
चिप क्षेत्रका कर्मचारीहरूको बढ्दो लोकप्रियतालाई मनोरञ्जन क्षेत्रले पनि उपयोग गर्न थालेको छ । युट्युब च्यानल ‘टेओ’ले सामसुङ र एसके हाइनिक्सका कर्मचारीहरूलाई सहभागी गराएर सञ्चालन गरेको डेटिङ शो अगस्ट १३ मा प्रसारण गरेयता करिब ६ लाख ५० हजार पटक हेरिसकिएको छ ।
त्यस्तै नेटफ्लिक्सले हालै सार्वजनिक गरेको ‘रुकी किम्स स्टक मार्केट मिसन’ नामक शोमा चर्चित हास्यकलाकारले एसके हाइनिक्सको शेयर खरिद गरेर शेयर बजारको यात्रा सुरु गरेको देखाइएको छ। कोरियामा प्रत्येक चार जनामध्ये एक जना शेयर बजारमा लगानीकर्ता रहेकाले यस्ता सामग्रीले ठूलो दर्शक वर्गलाई आकर्षित गरेका छन् ।
एआई र सेमिकन्डक्टरको यो तरङ्गले दक्षिण कोरियाको उच्च शिक्षामा समेत ठूलो फेरबदल ल्याएको छ । कोरियाको सर्वोच्च मानिने सोल नेशनल युनिभर्सिटीमा इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ विषयको लोकप्रियता अत्यधिक बढेको छ ।
युनिभर्सिटीको तथ्याङ्कअनुसार इन्जिनियरिङ कलेजमा विषय छनोट नगरेका विद्यार्थीमध्ये सन् २०२३ मा २० प्रतिशतले मात्र इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ रोजेकामा यस वर्ष सो सङ्ख्या बढेर ९० प्रतिशत पुगेको छ । कोरियाली विद्यार्थीहरू एआईलाई केवल अमूर्त अवधारणाका रूपमा नभई सामसुङ र एसके हाइनिक्स जस्ता स्वदेशी कम्पनीहरूको हार्डवेयर डिभिजनमा सुरक्षित, स्थायी र तत्काल प्रतिफल दिने रोजगारीको ढोकाका रूपमा हेरिरहेका छन् ।
तस्विर: एआई
-एजेन्सीको सहयोगमा


विश्व खबर 



















