images
images
  • सुदूरपश्चिममा स्वास्थ्य बिमा आबद्ध हुनेको संख्या ७ लाख ३२ हजार नाघ्यो

    काठमाडौं – सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको संख्या ७ लाख ३२ हजार ७५२ पुगेको छ । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गत भदौ मसान्तसम्म उक्त संख्यामा नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका हुन् ।

    बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार सबैभन्दा बढी कैलालीका नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । कैलालीमा ३ लाख ६१ हजार ९७९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

    त्यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् ।

    नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा उपचारमा हुने ठूलो आर्थिक खर्चको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत २५ गतेदेखि सुरु भएको हो । कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्वास्थ्य बिमा ऐन, २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको छ ।

    संयोजक साउदले नेपालको संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गरेकाले स्वास्थ्य बिमा कार्यक्रम त्यसको कार्यान्वयनको महत्वपूर्ण माध्यम भएको बताए । उनका अनुसार स्वास्थ्य बिमाले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई उपचार खर्च व्यवस्थापनमा राहत पुर्‍याउँदै आएको छ ।

    संविधानको धारा ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । सोही संवैधानिक व्यवस्थाअनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको बोर्डले जनाएको छ ।

    स्वास्थ्य बिमामा आबद्ध हुन पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान तिर्नुपर्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि ७०० रुपैयाँका दरले शुल्क लाग्ने व्यवस्था छ ।

    स्वास्थ्य बिमा नियमावलीअनुसार हालको सुविधा थैलीलाई दुई गुणाले वृद्धि गर्नुका साथै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपाङ्गता भएका व्यक्ति तथा कुष्ठरोग, एचआईभी र एमडीआर–टीबीका बिरामीलाई निःशुल्क बिमाको व्यवस्था गरिएको छ । यी समूहका व्यक्तिको बिमा प्रिमियम सरकारले नै व्यहोर्ने गरेको बोर्डले जनाएको छ ।

    त्यस्तै, संगठित क्षेत्रका व्यक्तिलाई आम्दानीको एक प्रतिशत योगदान गर्ने गरी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।

    बिमामा आबद्ध पाँच सदस्यसम्मको एक परिवारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ । त्यसपछि थप हुने प्रत्येक सदस्यका लागि २० हजार रुपैयाँका दरले सुविधा थपिँदै अधिकतम दुई लाख रुपैयाँसम्म उपचार खर्च व्यहोर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

    स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध व्यक्तिले तोकिएका सरकारी अस्पतालबाट ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला परीक्षण, सामान्य शल्यक्रियालगायतका स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images