काठमाडौं– कांग्रेसले आजदेखि सुरू हुने १५औँ महाधिवेशनमा उम्मेदवारहरूले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न रोक लगाएको छ ।
केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना र वातावरणीय पक्षलाई ध्यान दिँदै निर्वाचन आचारसंहितामा थप कडा व्यवस्था लागू गरेको बताएको छ ।
समितिले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।
अब उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ । केन्द्रीय निर्वाचन समितिले हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
समितिले आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमअनुसार कारबाही गरिने समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।
केन्द्रीय कार्यसमिति ठुलो बनाइँदै
हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमिति १५औँ महाधिवेशनपछि २३८ सदस्यीय बनाउने तयारी गरिएको छ । पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्याइएको छ । सभापतिसहित १३ पदाधिकारी र १५६ सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् ।
नयाँ व्यवस्थाअनुसार सभापतिले महाधिवेशनपछि तीन सहमहामन्त्रीसहित ६१ जना मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनयन गर्ने व्यवस्था थियो । मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये एक महिला अनिवार्य गरिएको छ । आठ समूहबाट एक–एक सहमहामन्त्री निर्वाचित हुने पुरानो व्यवस्था भने कायम राखिएको छ । यससँगै कम्तीमा एक निर्वाचित र एक मनोनीत गरी दुई महिला पदाधिकारी सुनिश्चित गरिएको छ ।
सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट बढाएर ६१ पुर्याइएको छ । त्यस्तै ३५ बर्ष मुनिका २१ जना युवालाई आरक्षण दिएर केन्द्रीय समितिमा लगिदै छ, जसमा हरेक प्रदेशबाट कम्तिमा एक महिलासहित १४ जना र ७ जना खुलाबाट निर्वाचित गर्ने तयारी गरिएको छ ।
कांग्रेस महाधिवेशन : बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, खाजा र खाना खुवाइने


विश्व खबर 

















