काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरू हुँदैछ ।
आइतबार २ बजे महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
असोज १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । निर्वाचन राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ ।
काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुदैछन् ।
महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले शनिबारदेखि नै पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशनको दर्ता प्रक्रिया शुरू गरेका छन् । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ ।
महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।
कहाँ–कहाँ गरियो पार्किङको व्यवस्था ?
कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ ।
जस अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ ।
यसैगरी काठमाडौं उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए ।
धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटेलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र नि:शुल्क हुनेछ ।


विश्व खबर 



















