काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक पार्टीहरू पनि सहभागी हुँदैछन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवासहित अन्य पार्टीका शीर्षस्थ सबै नेताहरूलाई निमन्त्रणा गरिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा भने आफ्नो समूहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडि बढिरहेकाले सहभागिताको सम्भावना छैन ।
प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको छ ।
यसअघि चितवनमा सम्पन्न रास्वपाको ऐतिहासिक महाधिवेशनमा दोस्रो तहका नेतालाई पठाएको एमालेबाट कांग्रेस महाधिवेशनमा भने अध्यक्ष केपी शर्मा ओली स्वयम् सहभागी होलान कि नहोलान भन्ने चासो छ । खासगरी कांग्रेसका शेरबहादुर देउबासँग लोली मिल्ने ओली गगन थापा सभापति रहेको पार्टीको महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् भनेर आम चासोको विषय बनेको हो ।
महाधिवेशनमा विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको बताइएको छ । हाधिवेशनमा सहभागी हुन पार्टीको विदेशस्थित अन्य जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आएका छन् ।


विश्व खबर 

















