काठमाडौं- विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार महिनामा १० करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको अध्यक्षतामा शुक्रबार भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।
ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ्दो मूल्य र सम्भावित आपूर्ति अभावबारे जी–७ राष्ट्रका नेताहरूबीच छलफल भएको थियो ।
सहमति अनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकायमार्फत रणनीतिक भण्डारबाट तेल तथा डिजेल तत्काल बजारमा पठाउन सुरु गरिनेछ ।
विशेषगरी पहिलो २० दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइने योजना छ ।
यसबाट बजारमा आपूर्ति बढाएर मूल्यवृद्धिको दबाब कम गर्ने लक्ष्य राखिएको छ ।
जी–७ राष्ट्रहरूले एकअर्काबीच ऊर्जा तथा ऊर्जा उत्पादनको निर्यातमा प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
पछिल्लो समय अमेरिकाले घरेलु बजारमा बढेको डिजेल मूल्य र आपूर्ति समस्यालाई सम्बोधन गर्न निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेत दिएको थियो ।
युरोपेली मुलुकहरूले भने यस्तो कदमले विश्व बजारमा थप दबाब सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।


विश्व खबर 



















