काठमाडौं- नेपाली कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने व्यवस्था भएपछि जेन–जी पुस्ताका युवाहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
चितवन–३ का २१ वर्षीय उमंग लोहनी, झापा–२ की २२ वर्षीया रुवी सिटौलालगायत युवाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
उनीहरूले कांग्रेसलाई परम्परागत शैलीबाट बाहिर निकाल्दै विचार, संगठन र कार्यक्रममा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् ।
कांग्रेसले सात प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना र देशभरबाट थप ७ जना गरी ३५ वर्षमुनिका २१ युवालाई केन्द्रीय समितिमा ल्याउने व्यवस्था गरेको छ। प्रदेशबाट निर्वाचित हुने १४ मध्ये सात जना महिला अनिवार्य हुनेछन् ।
गत वर्षको जेन–जी आन्दोलनपछि कांग्रेसभित्र युवाको प्रतिनिधित्व र पुस्तान्तरणको बहस तीव्र बनेको थियो ।
विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म युवाका लागि निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएको कांग्रेसले जनाएको छ ।
नेविसंघकी अध्यक्ष करुणा कटुवालसहित युवा नेताहरूले युवालाई पदका लागि मात्र नभई लोकतन्त्र र देशको भविष्यसँग जोड्नुपर्ने बताएका छन् ।
राजनीतिक विश्लेषक तुलनारायण साहका अनुसार जेन–जी आन्दोलनको प्रभावसँगै कांग्रेसमा युवाको राजनीतिक सहभागिता बढेको हो ।
कांग्रेसका नेताहरूले नयाँ पुस्ताको प्रवेशले पार्टीमा नयाँ विचार, ऊर्जा र संगठनात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।


विश्व खबर 


















