काठमाडौं – सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मप्र ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको मप्र ०३–००२ ख ३९९६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गोलबजार नगरपालिका–४ की ४५ वर्षीया शोभाकुमारी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।
दुर्घटनामा घाइते २२ वर्षीया प्रियङ्का यादवको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ। अर्की घाइते गोलबजार नगरपालिका–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
दुर्घटनामा घाइते अन्य तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपरका चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


विश्व खबर 



















