काठमाडौं – भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ । बाँधमा जम्मा भएको सिल्ट सफा गर्न परियोजनाले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खोल्न लागेको हो ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रअनुसार बाँधका ढोका खोलिने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई प्रशासनले सतर्क रहन आग्रह गरेको छ । नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ अर्यालले बताइन् ।
२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले बाँधका ढोका खोल्नुअघि नेपाली पक्षलाई जानकारी गराउँदै आएको छ । सोहीअनुसार नेपालतर्फ सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउने गरिएको प्रशासनले जनाएको छ ।
यसअघि पनि गत साउन १३ गते धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिएको थियो ।


विश्व खबर 



















