काठमाडौं – कुमारी बैंकका ग्राहकले थमेलस्थित रमदा एन्कोर बाइ विन्डहम होटल तथा रेस्टुरेन्टका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
कुमारी बैंक र रमदा एन्कोर बाइ विन्डहम होटलबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, पेय पदार्थ तथा स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटलका विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा बैंकका ग्राहकलाई किस्ताबन्दी सुविधा पनि उपलब्ध गराइनेछ । त्यस्तै, वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पाउनेछन् ।
पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमका लागि केक तथा कर्केज शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन् ।
ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकका अनुसार देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।
बैंकले ग्राहकलाई थप सहज, सुलभ तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।


विश्व खबर 



















