काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ तथा खुद्रा नोट सटही गर्न छुट्टै मिति नतोक्ने भएको छ । राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटहीको सुविधा उपलब्ध गराउने भएको हो ।
विगतमा दसैँलाई लक्षित गरी निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने गरिएको थियो । तर, यस वर्षदेखि नयाँ तथा खुद्रा नोट सटहीलाई नियमित सेवाकै रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकसँग पर्याप्त नयाँ नोट मौज्दात रहेकाले मागअनुसार नोट उपलब्ध गराइनेछ । मागअनुसार नयाँ नोटले नपुगेमा सफा तथा चलनयोग्य नोटसमेत सटहीका लागि उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ ।
राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाले समेत राष्ट्र बैंकबाट नयाँ तथा खुद्रा नोट लिएर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन् ।
हाल राष्ट्र बैंकमा व्यक्तिगत प्रयोजनका लागि नोट सटही गर्न जानेले बढीमा दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ । एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट रहनेछन् ।
राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि मागअनुसार नयाँ नोट उपलब्ध नहुन सक्ने भए पनि व्यापारिक प्रयोजनका लागि नयाँ तथा सफा नोट सटहीको सुविधा उपलब्ध हुनेछ ।
यस वर्ष दसैँका लागि नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंकले छुट्टै मिति घोषणा गर्ने प्रतीक्षा गर्नुपर्ने छैन। नियमित कार्यालय समयमा नै राष्ट्र बैंक तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा खुद्रा नोट सटही गर्न सकिनेछ ।


विश्व खबर 



















