काठमाडौं – समयमै सिँचाइ, बीउ र मलखादको भरपर्दो उपलब्धता नहुँदा महोत्तरीका किसान धानखेतीको भविष्यलाई लिएर चिन्तित बन्न थालेका छन् ।
खेतीको मुख्य आधार रहेको धान उत्पादनका लागि आवश्यक पानीको अभावसँगै समयमा गुणस्तरीय बीउ र मल नपाउँदा किसानलाई हरेक वर्ष खेती गर्ने कि नगर्ने भन्ने अन्योल हुने गरेको छ ।
परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गर्ने मुख्य अन्नबाली धान बीउ राख्नेदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा किसानको खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।
भङ्गाहा–४ पलारका किसान रामनारायण थारुका अनुसार धानखेतीका लागि सबैभन्दा महत्वपूर्ण सिँचाइ हो । तर अधिकांश किसान अझै आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।
“धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो । आकाशे पानीकै भरमा खेती गर्नुपरेको छ । बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ,” थारुले भने, “खेतीका बेला बीउ र मल पनि पाइँदैन । अब धानखेतीले धान्न सकिएला जस्तो छैन ।”
पुस्तौँदेखि गर्दै आएको खेतीबाटै जीवन धान्दै आएका किसानमा पछिल्ला वर्षमा निराशा बढेको उनको भनाइ छ ।
भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतरले विगतमा बीउ राख्ने, रोपाइँ गर्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको सम्झन्छन्। उनका अनुसार पहिले गाउँघरमा पानीका मुहान पर्याप्त थिए भने किसानले आफ्नै बीउ जोगाएर राख्थे ।
“खेती गर्ने जनशक्ति पनि पर्याप्त पाइन्थ्यो, पानीका मूल जताततै थिए । किसानले बीउ आफैँ जोगाएर राख्थे । रोगब्याधको पनि अहिलेको जस्तो प्रकोप थिएन,” उनले भने, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यस्तो समय कसरी आयो भन्ने लाग्छ ।”
७१ हजार हेक्टर खेतीयोग्य जमिन, सिँचाइ पुगेको ३० प्रतिशत हाराहारी
महोत्तरीमा करिब ७१ हजार हेक्टर जमिन खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तर कुल खेतीयोग्य जमिनमध्ये करिब १० प्रतिशतमा मात्रै कुलो तथा नहरको पहुँच पुगेको छ ।
भूमिगत जलस्रोतको समेत उपयोग गर्दा जिल्लाको करिब ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
सिँचाइ सुविधा पुगेका भनिएका कतिपय क्षेत्रमा समेत पानीका मुहान सुक्दै गएका छन् । धानलाई अन्य बालीको तुलनामा बढी पानी आवश्यक पर्ने भएकाले सिँचाइको भरपर्दो व्यवस्था नहुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसान बताउँछन् ।
बलवा–११ का किसान उत्तिम माझीका अनुसार पानीसँगै बीउ, मल र जनशक्तिको अभाव पनि धानखेतीका लागि चुनौती बन्दै गएको छ ।
“सिँचाइ मुख्य पक्ष भयो नै, भरपर्दो बीउ र मल पनि समयमा नपाएर भौतारिनुपरेको छ,” उनले भने, “धान रोपाइँका बेला मजदुर पाइँदैनन् । अब यो खेती धान्न गाह्रो छ ।”
वर्षाअनुसार घटबढ हुन्छ धानखेती
कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीमा धानखेतीको क्षेत्रफल र उत्पादन वर्षाको अनुकूलताअनुसार ठूलो फरक पर्ने गरेको छ ।
विगतमा अनुकूल वर्षा हुँदा जिल्लामा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती हुने गरेको पुराना कृषि अधिकारीहरू बताउँछन् । कृषि विकास कार्यालय महोत्तरीमा कृषि अधिकृतका रूपमा काम गरेका रामबहादुर भुजेलले विसं २०५४र५५ अघिसम्म जिल्लामा ४५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको स्मरण गरे ।
पछिल्ला वर्षमा पनि धानखेतीको क्षेत्रफलमा उतारचढाव देखिएको छ। कृषि ज्ञान केन्द्रका अनुसार विसं २०८० मा ४० हजार ३२१ हेक्टर र २०८१ मा ४२ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।
विसं २०८२ मा भने लामो समयसम्म परेको खडेरीका कारण धान रोपाइँको क्षेत्रफल घटेर ३० हजार ९८६ हेक्टरमा सीमित भएको थियो । त्यस वर्ष असोज दोस्रो सातामा परेको वर्षा र आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्याएपछि उत्पादन ८० हजार १७७ मेट्रिक टनमा सीमित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिए ।
यस वर्ष करिब ३६ हजार हेक्टरमा धानखेती
गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढेको छ । पर्याप्त वर्षा नभए पनि किसानले सिँचाइका लागि थप मेहनत गरेर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ गरेको महतोले बताए ।
धान काट्ने र दाइँ गर्ने समयसम्म मौसम अनुकूल रहेमा यस वर्ष जिल्लामा धान उत्पादन एक लाख मेट्रिक टनभन्दा बढी पुग्न सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
महतोका अनुसार महोत्तरीमा धानखेतीको क्षेत्रफल र उत्पादनमा देखिने उतारचढावको मुख्य कारण पानीको उपलब्धता हो । वर्षा अनुकूल हुँदा खेती बढ्ने र खडेरी वा बाढीको अवस्था आएमा खेती तथा उत्पादन दुवै घट्ने गरेको छ ।
नदी र खोलाको पानी खेतसम्म पुर्याउन माग
भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारुका अनुसार पछिल्लो एक दशकमा किसानले चाहेजति क्षेत्रफलमा धानखेती गर्न सकेका छैनन् ।
“पछिल्ला १० वर्षयता कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन । पानी, बीउ र मलको अभाव नै मुख्य कारण हो,” उहाँले भन्नुभयो ।
उनका अनुसार महोत्तरीका बस्तीपिच्छे नदी, खोला, खोल्सी र जलाधार क्षेत्र भए पनि त्यसको व्यवस्थित उपयोग गरेर किसानको खेतसम्म पानी पुर्याउने व्यवस्था हुन सकेको छैन ।
नदी र खोलालाई सिँचाइको स्रोतका रूपमा उपयोग गर्न नसक्दा एकातिर किसान खेतमा पानी नपाएर समस्यामा पर्ने र अर्कोतिर वर्षायाममा आएको भेलले घर, खेत तथा बालीनालीमा क्षति पुर्याउने अवस्था रहेको उनको भनाइ छ ।
सिँचाइ र कृषि सामग्रीमा सरकारी सहयोगको माग
किसानले धानखेतीलाई टिकाइराख्न तीनै तहका सरकारले सिँचाइ सुविधा विस्तार, गुणस्तरीय बीउ र मलको सहज उपलब्धता, सुलभ कृषि ऋण तथा उत्पादनमा उचित अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
भङ्गाहा–६ सग्रामपुरका कृषिविज्ञ तथा सरकारी कृषि सेवाबाट निवृत्त जासर यादवका अनुसार धानलगायत परम्परागत बाली उत्पादनको लागत निरन्तर बढ्दै गएपछि किसानको आर्थिक क्षमता कमजोर हुँदै गएको छ ।
उनका अनुसार उत्पादन लागत घटाउने, सिँचाइको दिगो व्यवस्था गर्ने र समयमा आवश्यक कृषि सामग्री उपलब्ध गराउन सके किसानलाई परम्परागत खेतीमा टिकाइराख्न सहज हुनेछ ।


विश्व खबर 



















